अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न मिल्दैन : राष्ट्रपति
प्रधानमन्त्री नियुक्त गर्न देउवाले माग गर्नु संविधान बिपरित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति संस्थाबाट संविधान बमोजिम भएको काम कारबाही र निर्णय अदालतबाट बदर हुन नसक्ने बताउनु भएको छ ।
प्रतिनिधिसभा विघटन सम्वन्धमा सर्वोच्चमा परेको रिटमा लिखित जवाफ पेश गर्दै राष्ट्रपतिले अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी हुन नसक्ने जवाफ दिनु भएको छ ।
राष्ट्रपति कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले पेश गरेको लिखित जवाफमा आफूलाई प्रधानमन्त्री नियुक्त गर्न देउवाले माग गर्नु आफैंमा संविधान बिपरितको विषय भएको उल्लेख छ ।
धारा ७६ को उपधारा ५ मा उल्लेख भएअनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छ कि छैन भनी यकिन गर्ने अधिकार र कर्तव्य राष्ट्रपतिको भएकाले यो यसमा अदालत प्रवेश गर्न नमिल्ने जिकिर जवाफमा गरिएको छ।
प्रधानमन्त्री नियुक्तीका लागि शेरबहादुर देउवाको दाबीमा दुई वटा दलको मात्रै निर्णय साथ राखिएको, अन्य दलको पत्र संलग्नता नभएको, हस्ताक्षरको सिलसिला नमिलेको र प्रतिनिधि सभाको दलीय हैसियत पनि नखुलेको राष्ट्रपतिको जवाफमा उल्लेख छ।
त्यस्तै ओलीले दाबी गरेका दाबीकर्ताले अर्का दाबीकर्तालाई समर्थन गरेको पाइएकाले ओलीलाई पनि प्रधानमन्त्रीमा नियुक्त नगरिएको जवाफमा जनाइएको छ ।
जवाफमा भनिएको छ “७६ (५) अनुसार विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भन्ने एकिन गर्ने राष्ट्रपतिले मात्रै हो । राष्ट्रपतिबाट ७६ (५) मा भएको कामकारबाहीमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको विषय पनि होइन। रिट खारेजगरि पाउँ ।”