महाधिवेशन १९ को २० हुँदैन बरु १८ मै हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने ठोकुवा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गर्दै तोकिएकै समयमा हुने दावी गरे ।
पार्टीको १४ औं महाधिवशेन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन भएपछि सभापति देउवाले भने, ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ । १९ को २० हुँदैन, बरु १८ मै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।’
बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकले राजनीतिक प्रस्ताव र महाधिवेशनसम्बन्धी कार्यतालिका अनुमोदन गरेको छ । राजनीतिक प्रस्तावमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई बलियो बनाउने र नेताहरुबीच आपसी विश्वास बढाउने गरी काम गर्ने उल्लेख छ ।
बैठकमा नेताहरुको बोल्ने क्रम चलिरहेका बेला बीचबीचमा आफ्नो धारणा राख्दै कांग्रेस सभापति देउवाले महाधिवेशनबारे आशंका नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।
त्यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन निर्धारित मितिमै गर्नुपर्ने बताउँदै विपक्षी गठबन्धनलाई पनि बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादको बाटोमा अगाडि लैजान खोजेकाले त्यसलाई पराजित गर्न विपक्षी गठबन्धन मजबुत हुनुपर्नेमा पौडेलले जोड दिएका थिए । उनले गठबन्धनका नेताहरुबीच अविश्वास पैदा हुने गरी काम गर्न नहुनेमा सचेत हुनुपर्ने पनि बताएका छन् ।
नेताहरुले पार्टीको महाधिवेशनलाई आन्दोलनको रुपमा अगाडि लैजानुपर्ने धारणा राखेका थिए । सरकारको अधिनायकवादी र सर्वसत्तावादी सोचविरुद्ध तल्लो तहसम्म जनताका बीचमा जानुपर्ने मत कांग्रेस नेताहरुको थियो ।
कांग्रेस केन्द्रीय समितिबाट पारित महाधिवेशनको कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन साउन १२ गतेबाट सुरु हुनेछ । साउन १६ मा गाउँ÷नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ ।
त्यस्तै दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछ । यस्तै क्रियाशील सदस्यता टुंग्याउन छानविन समितिलाई असार २० गतेसम्मको समय दिइएको छ ।