खनालको विज्ञप्तिले माधव समूहमा तरंग, एक होला त एमाले ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक बिवाद हल हुने स्थितिमा पुगेको समाचारहरु बाहिर आइरहेका छन । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेपछि माधव नेपाल समूहमा तरंग उत्पन्न भएको छ ।
‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ बुधबार वक्तव्य जारी गर्दै खनालले भनेका छन् ।
वरिष्ठ नेता खनालले देशको विथोलिएको राजनीति अवस्थाले आफूलाई चिन्तित बनाएकोले देशको समस्या समाधानका लागि एकजुट हुन सबै दल र नेतालाई आहृवान गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ । सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’
खनालको वक्तव्य ओलीपक्षका नेताहरुको षडयन्त्र भएको माधव समूहका नेताहरुले आरोप लगाएका छन् । सो समूहका नेताहरु विरोध खतिवडा र डा. विजय पौडेलले खनालको वक्तव्यमा उहाँको भाषा नआएको भन्दै खनालका नाममा विज्ञप्ति जारी गरेर षडयन्त्र गरेको आरोप लगाएका छन् । तर खनाल निकट नेता भीम आचार्यले सो विज्ञप्ति खनालले नै जारी गरेको बताएका छन् भने खनालको सचिवालयले पनि विज्ञप्ति उहाँले पढेपछि जारी गरिएको जनाएको छ ।
यसैबीच पार्टीलाई एकढिक्का राख्न र जोगाउन लागि एमालेका दोश्रो तहका नेताहरु रातदिन नभनि वार्तामा जुटेका छन । यसरी पार्टी जोगाउन खटिएका नेताहरुमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र राजन भट्टराई छन । उता माधवकुमार नेपाल पक्षबाट भीम रावल, रघुजी पन्त, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल रहेका छन् । पछिल्लो समय पार्टी एकता प्रक्रियामा रावल र पन्त निस्क्रिय बसेपछि सो समूहबाट योगेश भट्टराई र भीम आचार्यको सक्रियता निकै बढेको छ ।
दोश्रो तहका नेताहरुको दौडधुप र सक्रियताले एमालेको आन्तरिक बिवाद हल भएर पार्टी एक ढिक्का हुने तरखरमा पुगेको बताइएको छ । यसको परिणाम असारको दोश्रो वा तेश्रो हप्तासम्म बाहिर आउने गरी काम भइरहेको जानकारी वार्तामा सहभागि नेता आचार्यले दिएका छन् । बिवाद मिल्दै गएको परिणाम स्वरुप नै बागमती र १ नम्वर प्रदेश सरकारको नीति तथा कार्यक्रम सजिलै पास हुन सकेको बताइन्छ ।