निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि

काठमाडौं । कोरोना सङ्क्रमण र निषेधाज्ञाले निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएको उपभोक्ता तथा ठेकेदारहरुको गुनासो छ । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनता थप मर्कामा परेका छन् ।
निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको अघोषित रुपमा ३० प्रतिशतभन्दा बढीले मूल्य बढेको उपभोक्ताहरुको गुनासो छ ।
डडेलधुराका हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयका अनुसार ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको वर्षात्ले बन्द हुँदा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव भएको छ ।
असारमै सम्पन्न गर्नुपर्ने निर्माणका काममा सामानको मूल्यवृद्धि भएका कारण उपभोक्ता समिति र निर्माण व्यवसायी अत्यधिक मारमा परेको निर्माण व्यवसायीहरुको गुनासो छ । व्यवसायहरुको गुनासो छ, “मूल्यवृद्धि भन्दा अगाडि ठेक्का भयो, अहिले सामानको दर बढेर आकासियो । कसरी निर्धारित समयमा काम सम्पन्न गर्ने भन्ने चिन्ताले सताएको छ ।”