गुल्मीमा कोरोना संक्रमितको दर घट्दै

गुल्मी । पछिल्लो समय गुल्मीमा कोरोना संक्रमितको दर घटिरहेको छ । स्वास्थ्य कार्यालय गुल्मीमा अनुसार अहिले संक्रिय संक्रमितको संख्या २७३ रहेको छ । दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमितको कुल संख्या ३ हजार १ सय ३१ पुग्यो । यहि बीचमा ९ हजार ९८ जनाको कोरोना परीक्षण गरियो । जसमा १ हजार ७ सय ७४ जना पूरूष र १ हजार ३ सय ६७ जना महिलामा संक्रमण पुष्टि भयो ।
संक्रमितमध्ये २ हजार ७ सय ६९ जनाले कोरोना जितेर निको भए । रेसुङ्गा नगरपालिकाका ५२२ जना, मुसिकोट नगरपालिकाका ३१७ जना, मालिका गाउँपालिकाका, ११० जना, मदाने गाउँपालिकाका ७३ जना, धुर्कोट गाउँपालिकाका १५४ जना, कालीगण्डकी गाउँपालिकाका २९१ जना, चन्द्रकोट गाउँपालिकाका ८४ जना, सत्यवती गाउँपालिकाका २४५ जना, रूरूक्षेत्र गाउँपालिकाका ३८८ जना, छत्रकोट गाउँपालिकाका १८९ जना, इस्मा गाउँपालिकाका १८४ जना र गुल्मीदरबनर गाउँपालिकाका २१२ जना कोरोना संक्रमण मुक्त भए ।
कोरोना संक्रमणको चेन ब्रेकका लागि गरिएको लकडाउनकै बीच संक्रमितमध्ये ८९ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमध्ये सबैभन्दा बढि सत्यवती गाउँपालिकाका छन् । त्यस गाउँपालिकाका १८ जनाले संक्रमणका कारण ज्यान गुमाएका हुन् । ९ जनाको जिल्ला बाहिर र ९ जनाको जिल्ला भित्र कोरोना संक्रमणका कारण मृत्यु भएको हो । रेसुङ्गा नगरपालिकाका १५ जनाको कोरोना संक्रमणका कारण ज्यान गयो । ७ जनाको जिल्ला भित्र र ८ जनाको जिल्ला बाहिर मृत्यु भयो । इस्मा गाउँपालिकाका ९ जनाले ज्यान गुमाए । २ जनाको जिल्ला भित्र र ७ जनाको जिल्ला बाहिर ज्यान गुमाएका हुन् ।
धुर्कोट गाउँपालिकाका १ जनाको जिल्ला भित्र र ६ जनाको जिल्ला बाहिर गरि ७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाए । मुसिकोट नगरपालिकाका ६ जना, मालिका गाउँपालिकाका ५ जना, कालीगण्डकी गाउँपालिकाका ४ जना, चन्द्रकोट गाउँपालिकाका ८ जना, रूरू क्षेत्र गाउँपालिकाका ७ जना, छत्रकोट गाउँपालिकाका ६ जना र गुल्मी दरबार गाउँपालिकाका ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भयो ।
कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि भन्दै असार ७ गतेसम्म लकडाउन गरिएको छ । पाँचौ पटक थप गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । कोरोना संक्रमणको दर केही घटेसँगै केही खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । खाद्य पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टामात्रै सञ्चालन गर्न अनुमति दिइएकोमा अहिले ४ घण्टा खोल्न दिएको छ ।
निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । यसअघि १० बजेसम्म मात्रै समय तोकिएको थियो ।
त्यस्तै बाणिज्य बैंक तथा विकास बैंक–बिमा कम्पनी, वित्तीय संस्था तथा सहकारी संस्था बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल भने जुनसुकै समय खुला रहनेछन् । कोरना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको शर्माले बताउनुभयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह समेत गर्नुभयो ।