प्रचण्डले किन गरे राजाको प्रशंसा !?

टिप्पणी

संविधानको धारा ७६ को (१), (२), (३) ले पार नलागेपछि धारा (५) समेतलाई प्रधानमन्त्री केपी ओलीका निम्ति सहज बनाउन खोजेको भन्दै सर्वोच्च अदालतमा बहस चलेको छ । बीसजना मन्त्रीको नियुक्ति बदर भएको घटना, माधव नेपाल कार्यकर्तालाई अघि सारेर निर्वाचन आयोगमा नेकपा एकीकृत नामक पार्टी दर्ता गराएको प्रसंग, प्रममाथि उठेका प्रश्न र पेचिलो बनिरहेको सम्वैधानिक र राजनीतिक परिस्थितिले राष्ट्र थप अस्थिर बनेको छ ।
राष्ट्रपति तटस्थ बस्न नसकेको आरोप लगाउनेहरुले अनेक कोणबाट अदालतमा विचाराधीन मुद्दाबारे विश्लेषण गरेका छन् । पुष्पकमल दाहालले त अहिलेको राष्ट्राध्यक्षको भूमिका र राजतन्त्र कालको तुलना गर्दै राजाहरुका पालामा राष्ट्राध्यक्षको ज्ञान, मान र शान रहेको र अहिले राष्ट्रपतिको अवमूल्यन भएको विश्लेषण गरेका छन् । दाहालको यो अभिव्यक्ति वहुचर्चित बनेको छ ।
बिहीबार विपक्षी गठवन्धनले गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै दाहालले भनेका थिए – “राष्ट्रपति सबैको अभिभावक भनेर, संविधानको संरक्षक भनेर, अझ म त महिला अघि सार्ने भाको (हाँस्दै) हेर्नुस् त अहिले राष्ट्रपति कस्तो भयो ? अहिले राष्ट्रपति भन्ने संस्था त यति (केही भन्न खोज्दा आफैं रोकिए) यो भन्दा त राजाको त एउटा थ्यो नि शान, अहिले त शान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था । राष्ट्रपति त संस्था हो नि ।” गणतन्त्र स्थापना हुनुमा आफ्नो ठूलो भूमिका रहेको वताउँदै आएका दाहालले राष्ट्रपति भन्दा राजा ठिक भन्ने अभिव्यक्ति दिनुलाई धेरैले गम्भीर र आश्चर्यजनक रुपमा लिएका छन् ।
भारतले नेपालमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गराउन चलखेल गरिरहेको चर्चा चलिरहेका बेला दाहालले दिएको अभिव्यक्तिले गम्भीर आशंका उत्पन्न भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । केही समयअघि भारत र चीनका लागि पनि विपक्षी गठवन्धनको सरकार बने कम्फटेवल हुने अभिव्यक्ति दिएर विवादमा आएका दाहालले विपक्षी गठवन्धनले आयोजना गरेको सम्पादकहरुसँगको अन्तक्र्रिया जस्तो महत्वपूर्ण कार्यक्रममै राष्ट्रपतिलाई होच्याउने र राजाहरुको प्रशंसा गर्नु अर्थपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
गणतन्त्र विवादमा परेको, राजनीतिक अस्थिरता बढेको, सबैजसो संस्था धुलिसान बनिरहेको र राष्ट्रले ठूलो परिवर्तन खोजेको बेला पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायतका नेतामा समेत गणतन्त्रप्रति निराशा बढेको देखिन्छ । यस्तो अवस्थामा गणतन्त्रको अवसान भएमा उनीहरु आफूले पिउँदै गरेको चिया चिसो हुँदा जस्तै थोरै मात्र दुःखी हुने देखिन्छ । केही महिना यता न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको मात्र दुरी बढेको छैन, संविधानको हकदार खोज्न थालिएको छ । राष्ट्रपतिलाई होच्चाउने गरि दाहालले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् । भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको ओलीले आरोप छ ।
‘मैले एकपटक भनेको थिए, रिसाएको बिरालोले खावो चिथोर्छ, अहिले राष्ट्रपतिलाई मुख छाड्ने प्रतिष्पर्धा चलिरहेको छ । हिजो भूतपूर्वको लस्करले राष्ट्रपति भन्दा राजा राम्रो भन्नेमा पुग्नुभयो’ ओलीले भनेका छन्, ‘कतिखेर के बोल्ने भन्ने पनि छैन, गणतन्त्रप्रतिको वैरभाव होला भित्री रुपमा । उहाँहरु मर्यादित समाज होइन असभ्य समाज बनाउन चाहनु हुन्छ । उहाँहरुको बोलाइ चलाइले त्यही देखाउँछ ।’
ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको पनि बताएका छन् । सार्वभौमसत्ता कहाँ छ भन्ने अप्रिय बहस पूर्वप्रधानमन्त्रीहरुले नै चलाएका छन् । विदेशी शक्तिले अल्मल्याउँदा मालिस गरेको ठान्ने ठूला दल विदेशी शक्तिले गलत प्रयोग गरेको स्वीकार्न थालेका छन् । तर उनीहरुले यसको दोष एकअर्कालाई दिने गरेका छन् ।
राजनीतिक दलका गतिविधिको विश्लेषण र घटनाक्रम हेर्दा अस्थिरताको पूर्ण विराम हुने देखिदैन, बरु संसदीय पद्धति र अहिलेको संविधानका सवै अंगप्रत्यंगले काम नगरेर आफै शिथिल बन्ने छाँट देखिएको भन्दै वुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।