भदौ ५ मा संसदीय समितिका सभापति चयन, कुन समितिमा कसको दाबी ?

काठमाडौँ प्रतिनिधिसभाका विषयगत समितिको भदौ ५ गते सभापति चयन हुने भएको छ ।

सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार सङ्घीय संसद् सचिवालयले दशवटा समितिको नेतृत्व चयनका लागि सोमबार सूचना जारी गरेको हो । सचिवालयले विस्तृत कार्यतालिका भने सार्वजनिक गरेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७५ अनुसार सचिवालयले विषयगत समितिको सभापति चयनको सूचना जारी गरेको हो । सूचना अनुसार भदौ ५ गते बिहान ११ बजे सभापति चयनको समय तोकिएको छ । सहमति नभएमा बहुमतीय प्रक्रियाबाट सभापति चयन हुनेछन् ।

कुन समितिमा कसको दाबी
संसदीय अभ्यास अनुसार सार्वजनिक लेखा समिति विपक्षी दलले पाउनेछ । यसअघि रुपान्तरित व्यवस्थापिकामा भने लेखा समिति पनि बहुमतीय आधारमा सत्तारुढ दलले नै सभापति चयन गरेका थिए । यसबाहेकका अन्य विषयगत समितिमा सहमतिमा बहुमतीय प्रक्रियाबाट नै सभापति चयनको सम्भावना छ ।

सबै विषयगत समितिमा सत्तारुढ दल नेकपाको बहुमत रहेको छ । प्रतिनिधिसभा नियमावली अनुसार बहुमतप्राप्त सदस्य सभापतिमा चयन हुने व्यवस्था छ । यसर्थमा सहमति नभएको अवस्थामा बहुमतीय प्रक्रियाबाट ९ वटै समिति सभापति नेकपाले नै पाउने करिव निश्चित छ ।

सत्तारुढ दलले आन्तरिक रुपमा समिति सभापतिको गृहकार्य गरे पनि औपचारिक रुपमा भने उम्मेदवार तय नगरेका आजको गोरखापत्र दैनिकमा समाचार छ ।।