एमालेले व्यूतायो पुरानै कमिटी, पूर्वमाओवादी नेतासहित आठ जनालाई स्थायी कमिटीमा थपिए
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले २०७५ जेठ २ को कमिटीलाई पुनस्र्थापना गरेको छ । पुनस्र्थापित केन्द्रीय कमिटीको वैठक शुक्रबार बस्ने भएको छ ।
त्यस्तै आज बसेको वैठकले स्थायी कमिटीमा आठ जनालाई थप गरेको छ । पूर्वमाओवादीतर्फका चारजना र साविकको एमालेका चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी स्थायी कमिटीमा थपिएका छन् भने बेदुराम भुषाल, रघुवीर महासेठ, रघुजी पन्त र विष्णु रिमाललाई पनि स्थायी कमिटी सदस्यमा थप गरिएको छ । भुषाल र पन्त माधव नेपाल समूहका हुन भने महासेठ र रिमाल ओली समूहका हुन ।
महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीलाई पुनस्र्थापना गरेसँगै माधवकुमार नेपाल पक्षका नेताहरुमाथि यसअघि गरिएको कारबाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।
आजको निर्णयपछि अब असन्तुष्ट नेताहरु सबै पार्टी एकताको पक्षमा आउने संस्थापन पक्षका नेताहरुले बताएका छन् । शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने बताइएको छ ।