काठमाडौँ उपत्यकाको निषेधाज्ञा असार ३१ सम्म थप

अबदेखि सबै सार्वजनिक यातायात चल्न दिइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायातमा जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गर्दै माइक्रोबस र टेम्पोसमेत चलाउन दिने निर्णय गरेको छ । असार २२ गतेदेखि उपत्यकामा जारी जोर–बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बैठकले अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिने निर्णय गरेको छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनिर्वाय अनुमति लिनुपर्नेछ । यसका साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । अबदेखि सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघिको २५ सिट क्षमताभन्दा बढीका सवारीसाधन मात्रै चलाउन अनुमतिमा सुधार गरी अबदेखि २५ भन्दा कम सिट क्षमताका सवारी साधन पनि सञ्चालन गर्न पाइने भएको छ । तर माइक्रोलगायत सफा टेम्पोमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाइने छैन ।