शिक्षक र कर्मचारीहरुद्वारा रेसुङ्गा नगर नगरकार्यापालिका बैठकमा धर्ना

गुल्मीको रेसुङ्गा नगर नगरकार्यापालिका बैठकमा नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले धर्ना दिएका छन्। सदरमुकाम तम्घासको बालमन्दिरमा आइतबार आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा बैठक बसिरहेको बेला आफ्ना माग सहित बालविकास शिक्षक, सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी र लेखापालहरुले धर्ना दिएका हुन्।

नेपाल सरकारले आ.व.२०७८÷०७९ को बजेट मार्फत न्युनतम पारिश्रमिक पूरा गर्न थप व्यय–भार स्थानीय सरकारलाई जिम्मा दिएको छ। संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक÷सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पु¥याउने घोषणा गर्नुभएको थियो।

तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन्। रेसुङ्गा नगरपालिकाले विभिन्न बाहाना बनाई न्यूनतम पारिश्रमिक पुरा गर्न आनाकानी गरिरहेकाले धर्ना दिनु परेको नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,‘बालविकास शिक्षक र विद्यालय कर्मचारीले पाउने न्यूनतम पारिश्रमिकको सुनिश्चितताका लागि हामी धर्नामा छौँ । स्थानीय तहले ल्याएका बजेटलाई हामीले हेरिरहेका छौँ । नजिकबाट नियाली रहेका छौँ । तर बालविकास कर्मचारी र विद्यालय कर्मचारीको मागलाई सम्बोधन गर्न सकिरहेको छैन्।’

नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिङ सराङकोटीले भन्नुभयो,‘प्रधानमन्त्रीले न्यूनतम पारिश्रमिक १५ हजार पुराएरै छोड्छु भन्नुहुन्छ। तर स्थानीय तहले यसप्रति आफ्ना कार्यक्रममा समावेश गरेको देखिदैन्।’ जिल्लाका सबै पालिकाहरुसंग बालविकास कर्मचारीहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि आफुले कोभिडनेशन गरिरहेको बताउनुभयो।

विद्यालय कर्मचारी परिषद् गुल्मीका सचिव श्यामलाल कुँवरले आफ्ना मागहरु पुरा नभए आफुहरुकै अगुवाईमा आन्दोलन समेत गरिने चेतावनी दिनुभयो। त्यस अवसरमा उनीहरुले आफ्ना मागहरु तत्काल पुरा गर्न माग राख्दै रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

उपप्रमुख भण्डारीले बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको मागप्रति नगरपालिका सकरात्मक भएको बताउनुभयो। कार्यापालिका बैठकमा पनि सोही विषयमा व्यापक छलफल गरिरहेको भन्दै निकर्षमा भने पुगि नसकेको बताउनुभयो।