जेनीले किन फालिन जिन्दगी !

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेपछि धेरै कलाकारमाझ उनले किन यस्तो निर्णय गरिन भन्ने कौतुहलता उत्पन्न भएको छ । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।
उनको शवसँगै सुसाईड नोट पनि भेटिएको थियो । नोटमा उनले लेखेकी छिन्– “यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ । पुलिस दाजु, त्यस्तो केही पनि छैन् ।’
नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेको पाइएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी थापागाउँस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी उनको शुक्रबार पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । दाहासंकार अगाडि नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका विभिन्न कलाकार, प्राविधिक, निर्माता, निर्देशकहरु आर्यघाट पुगेका थिए ।
चलचित्र कलाकार संघका वरिष्ठ सल्लाहाकार मोहन निरौलाले जेनी कुँवरको निधन हुँदा चलचित्र क्षेत्रलाई क्षती पुगेको वताउँदै दुःख व्यक्त गरेका छन् । दर्जन बढी चलचित्रमा अभिनय गरेकी जेनीले ३ वटा चलचित्रको निर्माण समेत गरेकी थिइन् । उनका २ छोरी र श्रीमान् छन् । छोरीहरु अमेरिकामा र अष्ट्रेलियामा रहेका छन् । श्रीमान अपार्टमेन्टमा नभएको बेला राति करिब ९ बजे आत्महत्या गरेर मृत्य रोजेकी थिइन् ।
जेनीले अभिनय गरेको ‘घायल, हलचल, मिस्टर डन, जीवनदाता, हाम्रो मिलन कहिले हुन्छ’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् । केही म्युजिक भिडियो निर्देशन समेत गरेकी उनले गीत समेत गाएकी छन् ।
विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी अध्यात्म र ध्यान भन्दै विभिन्न गुरुहरुको खोजीमा हेटौडा लगायत देशको धेरै ठाउँमा रहेको आश्रममा समेत बेला बेला पुग्ने गरेकी थिइन् । सामाजिक क्रियाकलापमा पनि सधैँ अग्रसर रहेकी थिइन् ।
जेनी विगत एक बर्षदेखि डिप्रेशनमा रहेको वुझिएको छ । करिव ६ महिना विपश्यना ध्यान शिविरमा समेत बिताएर फर्किएकी थिइन् ।