बेहुला–बेहुली तीन दिनसम्म ट्वाइलेट जान प्रतिवन्ध

इण्डोनेसियामा अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको तीन दिनसम्म नवविवाहित बेहुला बेहुलीलाई शौचालय जान प्रतिबन्ध लगाइन्छ । टिडंग समुदायमा विभिन्न आस्था तथा मान्यताहरु छन् । त्यसैले उनीहरु यसलाई निकै महत्वपूर्ण मानेर पूर्णरुपमा पालना गर्दछन् ।
विवाह एक पवित्र समारोह हो र यदि नवविवाहित बेहुला बेहुलीहरु शौचालय गएमा त्यसले पवित्रता भंग गर्दछ र उनीहरु अशुद्ध बन्दछन् भन्ने मान्यताका साथ बिहेको तीन दिनसम्म बेहुला बेहुलीलाई ट्वाइलेट जान दिइँदैन । अटेर गरेर ट्वाइलेट गएमा त्यसलाई अशुभ मानिन्छ । यो परम्पराका पछाडिको अर्को कारण चाहिँ नवविवाहित जोडीलाई खराब नजरबाट बँचाउनु हो रे । मलमुत्र त्याग गर्ने ठाउँ अर्थात् ट्वाइलेट दुर्गन्धित हुने हुनाले त्यहाँ नकारात्मक शक्तिहरु हुन्छन् । यदि बिहे लगत्तै बेहुला बेहुली ट्वाइलेट गएमा उनीहरुमाथि नकारात्मकताको प्रभाव पर्न सक्ने हुँदा दाम्पत्य जीवनमा समस्या ल्याउन सक्ने र सम्बन्धमै फाटो आएर दाम्पत्य जीवन नै टुट्न सक्दछ भन्ने मान्यता सो समुदायमा रहेको छ ।
बिहेको तुरुन्तै पछि यदि बेहुला बेहुलीले शौचालयको प्रयोग गरेमा दुईमध्ये कुनै एकजना ज्यानमै खतरा हुनसक्छ रे । ट्वाइलेट जान नपरोस भन्र बेहुला बेहुलीलाई खाना तथा पानी कम दिइने गरेको बताइएको छ । उनीहरुको कडारुपमा निगरानी पनि गरिन्छ । नवविवाहित जोडीलाई तीन दिनसम्म घरभित्रै नजरबन्दमा राख्ने यो परम्परा पूर्ण पालना गर्दा बेहुला बेहुलीमा बलियो आत्मीय सम्बन्ध कायम हुने र स्वस्थ तथा खुसी बच्चा जन्मिने विश्वास रहिआएको छ । विज्ञहरुका अनुसार यति लामो समयसम्म दिसा पिसाब रोकिराख्नाले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । तर यो समुदाय आफ्नो परम्पराका खातिर स्वास्थ्य समस्याहरु झेल्न तयार छ ।
एजेन्सी