मेलम्चीको पानीको स्वाद चाखेका उपत्यकावासीले धित मार्ने कहिले ?

काठमाडौं । असार १ गते आएको बाढीपहिरोबाट क्षति पुगेपछि अब मेलम्चीको पानी कहिले आउँछ भन्ने कौतुहलतामा बसेका छन् काठमाडौं उपत्यकावासी । २० वर्षपछिको प्रतिक्षामा बसेका उपत्यकावासीले मेलम्चीको पानीको स्वाद मात्र चाख्न पाएका थिए । मेलम्चीको पानी धित मर्नेगरी प्रयोग गर्ने उपत्यकावासीको सपनामा अलिक पर धकेलिएको छ ।
सुरुङको निरीक्षणका लागि असार १ गतेदेखि पानी बन्द गरिएको थियो । जसले गर्दा सुरुङमा बाढी छिर्न नपाएपनि अन्य संरचनामा क्षति पुगेको छ । सुरुङको शुरुवात भएका ठाउँमा पानीलाई एकतन्त्रित गर्न बनाइएको संरचना ध्यस्त भएको भने कामदार बस्ने भवनहरुमा पनि क्षति पुगेको छ ।
सडक पूरै अवरुद्ध हुँदा निर्माणस्थलसम्म पुग्न नसकिएकाले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको समितिले जनाएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्ने बताइएको छ ।
समितिले स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने जनाएको छ । तर अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन रुपमा भने भन्न नसकिने समितिले जनाएको छ ।
सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भएपनि पानी ल्याउने लक्ष्य लिइएको समितिले जनाएको छ ।
भदौसम्ममा हेडवर्कसम्म पुग्न बाटो बनाउन सकिएमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ ।
पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको थियो । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । ‘हेडवर्क’ निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने समितिले जनाएको छ ।
अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गरेर पानी ल्याउन सकिने समितिले जनाएको छ । अहिले ढुंगा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने बताइएको छ ।
आयोजनास्थलमा मर्मत गर्न एक अर्बरुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ । अहिले पुनःमेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । वर्षापछि भने आगामी वर्ष आयोजनामा क्षति हुन नपाओस् भनी संरक्षणका काम गर्नुपर्ने बताइएको छ । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा संघीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।
त्यस्तै तत्कालका लागि आयोजनास्थलसम्म पुग्न स्थानीय तहको सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरुसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने समितिले जनाएको छ ।