एमाले निकट युवासंघ सडकमा
राजधानीका विभिन्न ठाउँमा ठूलो मात्रामा प्रहरी परिचालन
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले निकटको युवा सङ्घ सडकमा आएको छ ।
युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको निर्णयको विरोधमा सडकमा आएको हो ।
राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका छन् । माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका थिए । पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले फैसला सुनाउनु अघिदेखि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।
सर्वोच्च अदालत वरपर र मुख्य चोक–चोकमा हतियारसहितका प्रहरीको टोली खटाइएको छ । सर्वोच्च अदालतको मुख्य गेट बाहिर र भित्र पनि सुरक्षाकर्मीहरुको संख्या अघिल्ला दिनहरुको तुलनामा धेरै देखिएको छ ।
नेपाल प्रहरीका एक जना अधिकृतले सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको बताए ।