सर्वोच्चको फैसला गलत भएपनि मान्छौं : एमाले नेता नेम्वाङ
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको परमादेश गलत भए पनि स्वीकार गर्ने बताएका छन् । नेकपा एमाले संविधान, लोकतान्त्रिक मूल्य र मान्यता मान्ने शक्ति भएकाले अदालतको फैसला मान्ने नेम्वाङले बताएका छन् ।
कानूनविद् समेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङले भने ‘यो फैसलाप्रति सहमत हुन सक्ने ठाउँ देखिदैन । तर यति हुँदाहुँदै पनि कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं ।’
संविधान, लोकतान्त्रिक मूल्य र मान्यता वमोजिम निरन्तर संघर्षमा जाने पनि उनले बताएका छन् ।
अदालतको फैसलाले गम्भीर प्रश्न उठ्ने स्थिति आएको वताउँदै नेम्वाङले संविधान, संवैधानिक अभ्यास र संसदीय प्रश्नहरु माथि समेत प्रश्न उठ्नेगरी फैसला आएको टिप्पणी गरेका छन् ।