एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

कार्यदलले तयार पारेको १०बुँदे सहमति अनुमोदन, कार्यदल भंग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
वैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्हयरुलाई पनि बोलाइएको थियो । तर उनीहरु उपस्थित भएनन् । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक स्थलमा पुगेका थिए । उनीहरुले बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि उनीहरु बाहिरिएका थिए ।
स्थायी कमिटी बैठकले अलोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएकाले समर्थन गर्न नसकिने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी थिएका छन् । सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
बैठकले कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ भने कार्यदल भंग गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
यसैवीच एमाले संसदीय दलको बैठक पनि आज बोलाइएको छ । संसद भवन वानेश्वरमा ३ बजे दलको वैठक बस्ने बताइएको छ ।