देउवालाई वधाई दिन भारत र चीनको कन्जुस्याईं

कस्तो होला प्रधानमन्त्री देउवाको कार्यकाल ?

काठमाडौं । अमेरिका र भारत नेपालमा भएको सत्ता परिवर्तनका कारण अरुभन्दा धेरै प्रशन्न देखिएका छन् । शेबरहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाई दिन अमेरिकी राजदूत राति नै प्रमको निजी निवास पुगेका थिए भने भोलिपल्ट भारतीय राजदूतले वधाई दिएको ‘कूटनीतिक शिष्टाचार’ औपचारिकताभन्दा अलि बढी आफ्नै सफलताको विम्व जस्तो देखिएको कूटनीतिज्ञहरुको टिप्पणी छ । चिनियाँ राजदूत भने प्रम देउवा सरकारी निवास वालुवाटार सरेका दिन अर्थात प्रधानमन्त्री भएको चौथो दिन वधाई दिन पुगिन् ।
भारतीय कूटनीतिज्ञ रन्जित रे त झन उत्साहित देखिएका छन् । उनले भारतीय सञ्चारमाध्यममार्फत देउवा प्रम हुनु र केपी ओली सत्ताच्युत भएको घटनाप्रति गरेको टिप्पणी पढ्दा आफैले लगाएको बाली सप्रिय पछिको खुशी जस्तो प्रतीत हुन्छ ।
‘स्टार्टन्युज ग्लोबल’ लाई दिएको अन्तर्वार्तामा आफ्नै दलको व्यवस्थापन गर्न नसक्दा केपी ओली असफल भएको भन्दै न्यायपालिकाको फैसला र परमादेश सबैले मान्नुपर्छ भनेका छन् ।
नेपालको इतिहासमा शेरबहादुर देउवा न्यायापालिकाको परमादेशबाट प्रधानमन्त्री हुने प्रथम सरकार प्रमुख भएको बताउँदै नेपालमा राजदुत रहिसकेका रन्जित रेले देउवा भारतका लागि परिचित भएकाले उनीसँग भारतले मिलेर काम गर्नुपर्ने सु्झाव पनि दिएका छन् । उनले काठमाडौंमा आउने हरेक सत्तासँग भारत मिलनसार हुनुपर्ने बताएका छन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री देउवालाई बधाइ तथा शुभकामना दिएको छ । राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले बधाइ दिएकी हुन् ।
त्यस्तै बेलायतले पनि देउवालाई बधाइ तथा शुभकामना दिएको छ । राजदूत निकोला पोलिटले बुधबार वक्तव्य जारी गर्दै नेपालले भोगिरहेका वर्तमान चुनौतिविरुद्ध मिलेर काम गर्ने चाहना बेलायतले राखेको जनाइएको छ । देउवाको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा पनि बेलायतले विज्ञप्तिमार्फत जाहेर गरेको छ ।
प्रधानमन्त्री देउवालाई बेलायत, अमेरिका, युरोपेली युनियन, चीन, भारत लगायतका मुलुकका राजदूतले वधाई दिए पनि चीन र भारतका प्रधानमन्त्रीले टेलिफोन सम्वाद गर्दै वधाई दिने उत्साह नदेखाउनुलाई धेरैले आश्चर्य र आशंकाका रुपमा लिएका छन् । यसअघि उनीहरुले तत्काल वधाई दिने गरेका थिए ।
सन् १९६२ देखि भारत–चीनबीच रहेको सीमा विवाद अरु पूर्णरुपले टुंगो नलागेको, डोक्लाम विवादमा सत्तरी दिनसम्म अटुट तनाव देखिएको, कस्मिर विवादमा चीनको धारणाप्रति भारत रुष्ट रहेको र भारतले राष्ट्रिय सुरक्षाका प्रश्न अमेरिका परस्त बनेर एसिया–प्रशान्त क्षेत्रमा वासिङटनलाई प्रेरित गरेको कूटनीतिका जानकारहरुको तर्क छ ।
यस्तै रसिया र पाकिस्तानसँग नजिक भएर चीनले भारतलाई सताउन खोजेको दिल्लीका कूटनीतिज्ञहरु बताउँछन् । क्षेत्रीय सन्तुलन, रणनीति र भूराजनीतिक कारणले नेपाली राजनीतिमा चीन, भारत, अमेरिका र इयुको दवाव बढ्दै जाने कतिपय विश्लेषकको तर्क छ । देउवा प्रधानमन्त्री भएपछि अमेरिका, युरोपेली मुलुकहरुको इच्छा पूरा भएको पनि कतिपयको टिप्पणी छ ।
पचपन्न अर्ब रुपियाँको एमसीसी परियोजनाको सम्झौता गर्ने कांग्रेस–माओवादी कै सरकार बनेपछि अब एमसीसी पारित हुने धेरैको आँकलन छ । सरकार एमसीसीमा मात्र केन्द्रित भए चीनले अघि सारेका कैयन परियोजना फिर्ता हुने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
यसैवीच विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् “नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो । अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो ।”
‘नहोस् पनि कसरी ?’ प्रश्न गर्दै मिश्र लेख्छन् “जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनीतिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदाहडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तर्राष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन ।’
जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिने उल्लेख गर्दै मिश्रले लेखेका छन् ‘यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनस्र्थापना गर्न हम्मेहम्मे पर्नेछ । चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन । अरुको के कुरा गर्नु !”
त्यस्तै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले लेखेका छन् – “छिमेकी मुलुकहरूसँग विश्वास र सन्तुलन कायम राख्न सकेकोले पृथ्वीनारायण, जङ्गबहादुर र राजा महेन्द्रलाई सफलता मिलेको हो । तर अहिले बधाई प्राप्त गर्न पनि महाभारत !”
राजनीतिमा विदेशी चलखेल बढेकोमा चिन्ता व्यक्त गर्दै शेरबहादुर देउवा लगायत पाँच जना पूर्व प्रमले विज्ञप्ति नै निकालेका थिए । तर समीकरण बदल्ने अभिप्रायले वाह्य हस्तक्षेप बढ्दा त्यसले राजनीतिक क्षेत्र मात्र होइन, सामरिक सन्तुलन पनि असन्तुलित हुने खतरा बढेको कूटनीतिज्ञहरुले बताएका छन् ।
निर्वातमान प्रधानमन्त्री केपी ओलीले कूटनीतिक सन्तुलन विगारेको आरोप लगाउने देउवाले अब कस्तो कूटनीति अख्तियार गर्लान्, त्यो भने भविष्यले देखाउने छ ।