निर्दलीय राष्ट्रपतिको खोजी
काठमाडौँ । सर्वोच्च अदालतको असार २८ को आदेशले निर्दलीय सरकारको परिकल्पना गरेको एमाले, माले, राप्रपा, नेककिपाका साथै केही कानूनविद, राजनीतिज्ञ, वुद्धिजीवीहरुले आरोप लगाएका छन् ।
अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नु र एउटा पार्टीको सांसदले पार्टी र संसदीय दलको निर्णय विना अर्को दलको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा
ह्वीप नलाग्ने फैसला गर्नुले राजनीति, संसद र जनादेशमाथि अदालत हावी भएको आरोप एमाले (प्रमुख विपक्षी दल बन्न पुगेको) को छ ।
अदालतको फैसलाले निकट भविष्यमा खिलराज रेग्मी नेतृत्वको सरकार जस्तै निर्दलीयल सरकार बन्न सक्ने कतिपयले आँकलन गरिरहेका
बेला राष्ट्रपति पनि निर्दलीयय खोजी हुन थालेको छ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिको विकल्प खोज्नुपर्ने बताएका छन् ।
वर्तमान संवैधानिक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प अघि सारेका छन् । तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उनको धारणा छ ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है । त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’
भट्टराईको यो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनै भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमार्फत नै बताएका थिए । पुष्पकमल दाहाललगायतका केही नेताहरुको पनि यस्तै धारणा छ । राष्ट्रपति भण्डारीले राजीनामा दिएमा पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउने योजना रहेको केही राजनीतिक विश्लेषकहरुको तर्क छ ।
तर राष्ट्रपति भण्डारीले राजीनामा नदिएमा महाअभियोग लगाएर हटाउन कांग्रेस, माओवादी, जसपा र एमालेको माधव समूहलाई फलमको चिउरा सावित हुने देखिन्छ । राष्ट्रपतिलाई महाअभियोग लगाएमा उनीहरुका लागि प्रत्युत्पादक हुने देखिन्छ । उनीहरुले उपराष्ट्रपति, सभामुख गुमाउनु पर्ने मात्र होइन, लहरो तान्दा पहरो गर्जने निश्चित देखिन्छ ।