भौतिकमा बेतिथि, कर्मचारी निराश

रेल बिभागमा भट्टराई

काठमाडौं । भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा केही आयोजना प्रमुखहरुको सरुवा गरेर कर्मचारीलाई निराश बनाएको छ । आर्थिक मसान्त भनेको वर्षभरीको योजना सम्पन्न गर्ने र हिसावकिताव राफसाफ गर्ने समय हो । तर यस्तै कुवेला पारेर कर्मचारीहरुको सरुवा गर्दा काममा बाधा परेको गुनासो बाहिर आएका छन । जसका कारण काम गर्ने कर्मचारीको मनोवल पनि गिरेको छ । मन्त्रालयले डिई र आयोजना प्रमुखहरुलाई असार मसान्त सकिन केही दिन मात्र बाँकी रहेको समयमा बिना औचित्य, एक्कासी र हचुवाको भरमा सरुवा गर्दा सडक निर्माणलगायत भौतिक पुर्वाधारका काम र प्रगतिमासमेत बाधा पुगको छ ।
अघिल्लो महिनाको २० गते सडक डिभिजन लाहानमा कार्यरत डिई रबिन्द्रलाल दासको सरुवा भएको छ । मदन भण्डारी आयोजना निर्देशनालयका सुई उमेश बिन्दु श्रेष्ठ र मदन भण्डारी आयोजना प्रमुख बेलबहादुर भुजेललाई पनि सरुवा गरिएको छ । यसैगरी सडक सुधार आयोजनाका प्रमुख अशोक तिवारीको पनि सरुवा भएको छ । आर्थिक वर्षको आखिरी समयमा कामको नतिजा सम्वन्धित निकायमा बुझाउने समय हो । तर उक्त अवसर उनीहरुलाई नदिइ बिना उनीहरुको सरुवा भएको छ ।
मदन भण्डारी आयोजना प्रमुख भुजेको सरुवा सडक सुधार आयोजनामा भएको छ । जवकी सो ठाउँमा सहसचिवलाई पठाउने गरिएको भएपनि भुजेललाई कामुको जिम्मेवारी दिएको छ । यसैगरी मदन भण्डारी आयोजना निर्देशनालयका प्रमुख बिन्दुको सरुवा मन्त्रालयमा भएको छ । दासको सरुवा सिन्धुली–बर्दिवास सडक आयोजनामा गरिएको छ । तिवारीलाई मदन भण्डारी निर्देशनालयमा सरुवा गरिएको छ ।
अर्को बेतिथि
असार २४ गते सडक डिभिजन कार्यालय बाग्लङ्गका डिई रामेश्वर लम्साललाई सडक बिभागमा सरुवा गरिएको छ । यसले कर्मचारीको मनोवल गिराएको मात्र छैन कि मन्त्रालयलमा कतिसम्म बेतिथि छ भन्ने कुरा प्रष्ट पारेको छ । जसले पहिरो आउने दुुर्गमको पहाडमा ज्यानको जोखिम मोलेर यातायात संचालन गर्न कठोर मेहनत गरेको बताइन्छ ।
यसैगरी योजनाका निर्माण कार्यहरुलाई अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई घचघच्याई रहको बताइन्छ । उनले निर्माण व्यवसायीलाई घचघच्याएर लेत देखी जोमसोमसम्म कालोपत्रे गर्ने कार्यलाई द्रुुत गतिमा अगाडि बढाउँदै लगेका थिए ।
यस्तो व्यक्तिलाई पुरस्कार स्वरुप आर्थिक वर्षको अन्त्य हुने ठिक ७ दिन अगाडि सरुवाको निर्णय गरी सडक बिभागमा सरुवा गरेर अर्को व्यक्तिबाट खाता संचालन गर्ने अधिकार किन दिइयो चौतर्फी प्रश्न उठेको छ ।
यो भन्दा बेथितिको पराकाष्ठा अरु के हुुन सक्छ ? पुरस्कार र दण्डको अवधारण भनेको यही हो भन्ने किसिमका सवाल मन्त्रालयका बिरुद्धमा उठेका छन । राम्रो काम गर्न खोज्ने व्यवस्थापकको मनोबल अब कसरी बढ्न सक्छ । सडक डिभिजन बागलुङ र बेनी– जोमसोम– कोरला सडकको जिम्मेवारी लिएका डि.ई. रामेश्वर लम्सालको सरुवालाई लिएर कर्मचारीहरुले यस्तै, यस्ता प्रकारको प्रश्न तेस्याई रहेका छन । सम्बन्धित निकायले विचार पुरर्याउन नसक्दा बिभाग र मन्त्रालयका जिम्मेवारहरु सार्वजनिक मिडियाहरुले पनि औंला ठडयाइरहेका छन । लम्साललाई जिम्मेबारीबाट हटाएपछि सडक निरन्तर रुपमा अवरुद्ध भएको र सडक संचालन गर्ने तर्फ निर्माण व्यवसायीहरुले चासो नदेखाएको कुरा समेत बाहिर आएको छ । के यो सरुवा सर्वसाधरण नागरिकहरुले दुख पाउन भनेर गरिएको हो त भन्ने प्रश्न पनि उठन थालेका छन ।
उल्लेखित कर्मचारीहरुलाई सरुवामा तत्कालीन मन्त्री बसन्त नेम्वाङ, सचिब रबिन्द्रनाथ श्रेष्ठ र सडक बिभागका भित्रका भ्रष्टहरुको चलखेलमा भएको बताइन्छ । लम्साललाई बिभागमा तानिएपछि अहिले त्यहीका एक कर्मचारीलाई कामुको जिम्मेवारी दिएको मन्त्रालयश्रोत बताउँछ ।
बिभागका महानिर्देशक, अर्जुनजंग थापा, तत्कालीन योजना महाशाखा प्रमुख एंवम सह–सचिव दीपक भट्टराईलगायतको योजनामा यी काम भएको बताइन्छ । रेल बिभागमा महानिर्देशक रहेकी प्रमिला शाक्य बज्राचार्यलाई सरकारले सचिवमा बढुवा गरे लगत्तै भट्टराईलाई रेल बिभागको महानिर्देशक बनाइएको छ ।
मन्त्रालय हाँक्ने र कर्मचारीको खटनपटन गर्नेमा बिभागका महानिर्देशक थापा र भट्टराईहरु हर्ताकर्ता मान्निदै आएका छन । नयाँ सरकार गठन भएको र अव आउने मन्त्री कुन दलको होला भनेर उनीहरुले सरुवामा चासो र सक्रियता बढाउने गरेको पाइएको छ । सचिव प्रधानले यस्ता बिषयमा खासै चासो लिने गरेको पाइदैंन । पुल महाशाखा र बैदेशिक सहायता महाशाखामा काम गरिसकेका महानिर्देशक थापा र भट्टराईहरुले सोझा भनिएका सचिवलाई लटपटाएर फाइदा उठाइरहेको मन्त्रालय श्रोत बताउँछ । मदन भण्डारी आयोजनामा ३६ करोड १९ लाख, काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाको ६३ करोड र सडक सुधार आयोजनाको ११ अर्व ३६ करोड बजेट रहेको छ । यसैमा भ्रष्टहरुको आखाँ लागेकोे बताइन्छ ।
भट्टराई र सडक महानिर्देशक थापा ज्वाईं र जेठान हुन । यी दुईको बिचमा को, कुन पदमा, कहिले र कुन समयमा जाने भनेर पनि एक प्रकारको भित्री मिलेमतो रहेको बताइएको छ । तर अव नयाँ आउने मन्त्रीलाई उनीहरुले कसरी रिझाउन सक्छन त्यसैमा उनीहरुको योजना सफल या असफल हुने देखिन्छ ।

रेल बिभागमा भट्टराई
भौतिक पुर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गत बिशालनगरमा रहेको रेल बिभागको रिक्त महानिर्देशक पदमा मन्त्रालयका सह–सचिव दीपक भट्टराईलाई लगिएको छ ।
बिभागमा जानको लागि भट्टराईले पहिले देखि नै मन्त्रालयमा सेटिङ मिलाएका थिए । उनी भन्दा एकसे एक सिनियर सह–सचिवहरु मन्त्रालयमा छन । तर सवैलाई पछाडि पार्दै आकर्षक र सवैको आँखा लागेको बिभागमा महानिर्देशक बनेर दीपकले बाजी मारेका छन । जसका कारण मन्त्रालयका सिनियर सह–सचिवहरु पुर्पुरोमा हात राखेर आफैंलाई धिक्कार्दै छन ।
सिनिययहरु सवैको आखाँमा खुर्सानीको धुलो हाल्दै भट्टराई महानिर्देशक बनेपछि ज्वाईं र जेठानको भित्री योजना सफल भएको बताइन्छ । यी दुवैको यस्तो राज मन्त्रालयमा कहिलेसम्म चल्ला, हामी पनि हेर्रौला भनेर इमान्दार कर्मचारी पर्खी बसेका छन ।
०६७ सालमा स्थापना भएको बिभागले अहिलेसम्म ५ जनाको नेतृत्व बेहोरिसकेको छ । भाग्यमानी महानिर्देशकहरुमा रामकुमार लम्साल, अन्नत आर्चाय, बलराम मिश्र, प्रमिला शाक्य बज्राचार्य र दीपक भट्टराई हुन । तर पनि नेपालमा रेल संचालन हुन सकिरहेको छैन । १० महिना अगाडि भारतबाट खरिद गरेर ल्याएको रेल अहिले जनकपुरमा घुम्टो ओडेर संचालनको पर्खाइ कुरिरहेको छ ।