माधव नेपाल अपमान सहेर एमालेमा नबस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र नबस्ने घोषणा गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने घोषणा गरेका हुन ।
नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरन्डामा उफ्रिने नाटक मञ्चन भईरहेको भन्दै त्यस्ता क्रियाकलापबाट पार्टीलाई मुक्त गर्न चाहेको बताएका छन् ।
नेता नेपालले सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने उनको तर्क छ । पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढने उल्लेख गर्दैै वरिष्ठ नेता नेपालले भने “पार्टी एकढिक्का भएर मात्रै हुँदो रहेनछ । सही वैचारिक जगमा उभिएको छ भने त्यो पार्टीको उपाध्येयता हुँदोरहेछ । वैचारिक धरातल ठिक छ कि छैन ? देश भक्तिको भावना भरिपूर्ण छ कि छैन, जनताप्रति समर्पित छ कि छैन रु समाज रुपान्तरण, समाजवाद निर्माणको बाटोमा सही हिसावले अगाडि बढेको छ कि छैन रु त्यसका नेता, कार्यकर्ताहरु इमान्दार छन कि छैनन् ? त्याग, तपस्या र बलिदानको भावनाले ओतप्रोत छन् कि छैनन् ? व्यक्तिवादी भएकी, अहंकारी भएकी, स्वार्थी भएकी ? आफ्नो स्वार्थका लागि पार्टीको नाम र झण्डा दुरुपयोग गरिरहेका छन् कि रु यी सबै कुराहरूप्रति सतर्क हुँदै गलत कुराको विरुद्ध विद्रोह गर्ने आँटका साथ पार्टीलाई अगाडि बढाउनु पर्दछ । पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढ्दछ ।”
नेता नेपालले देश र जनताप्रति समर्पित भएर अघि बढाउने ध्येयका साथ नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरेको पनि स्मरण पनि गरेका छन् ।