पार्टी एकताका लागि माधव नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने घोषणा गरेका छन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न, यसलाई मजबुत पार्न र विजय यात्रामा कसैले रोक्न नसक्ने पनि बताएका छन् । जनता र पार्टी एकताका कुरा गर्नुपर्ने वताउँदै ओलीले भने –‘आज यस दिनमा बाटो विराएका भड्किएका साथिहरुलाई पनि म भन्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहान्छु यो पार्टीको एकताका लागि जे सुकै भएको होस्, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, –सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’
ओलीले पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको पार्टी एमाले भएको भन्दै यो कर्कलोको पातको पानी नभएर कसैले हल्लाउँदैमा भुइँमा नखस्ने बताए ।
ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए ।
ओलीले कम्युनिष्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै रहेको बताउँदै भने ‘नेपालको इतिहासमा नेतृत्वमाथि प्रहार सधैं हुन्थ्यों । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिष्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ ।’ ओलीले भने,‘आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौं । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ । ’