कोरोना सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आम जनतालाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताउँदै तेस्रो लहर आउनसक्ने चेतावनी दिएका छन् ।
त्यस्तै मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध पनि गरेको छ । तेस्रो लहर आएर भयावह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्न सक्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न मन्त्रालयले भनेको छ ।
नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।