कांग्रेसले प्रम निवासमा पार्टीको बैठक नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै पार्टीको वैठक प्रम निवास वालुवाटारमा आयोजना गरिएको थियो । सो वैठकप्रति कटाक्ष गर्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।
जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानसँग उद्धृत गर्दै विगतको सरकारको गल्ती देउवा र नेपाली कांग्रेसले पनि दोहोर्याएको भन्दै चर्को आलोचना भएपछि कांग्रेसले प्रम निवासमा पार्टीको वैठक नगर्ने भएको हो ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने प्रतिवद्धता जनाएका छन् ।
आज दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’
महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।
शुक्रबार बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पार्टीको आसन्न महाधिवेशनका बारेमा छलफल गर्ने जनाइएको छ । क्रियाशील सदस्यताको काम नटुंगिएपछि कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । १२ साउनदेखि स्थानीय अधिवेशन शुरु गर्ने कार्यतालिकामा उल्लेख छ ।