भारतीय हिन्दुगुरुलाई बालुवाटारमा स्वागत

काठमाडौं । धर्मकर्ममा निकै रुचि राख्छन् प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा । आफ्ना हरेक महत्वपूर्ण निर्णय ज्योतिषीसँगको सल्लाह अनुसार गर्ने देउवा प्रमको सरकारी निवास वालुवाटार पनि साइत हेराएर भित्रिएका थिए । उनका ज्योतिषी सुरेन्द्रचन्द्र रिजालले सात पटक प्रधानमन्त्री हुने योग छ भनेपछि देउवा निकै उत्साहित भएका छन् ।
पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा तत्कालिन नेकपाका नेताहरू पुष्पकमल दाहाल, माधव नेपालहरूले ‘प्रधानमन्त्री तपाईलाई बनाउछौं सँगै आन्दोलन गरौं’ भन्ने प्रस्ताव राखेका थिए । तर देउवा टसमस भएनन् । उनले आफूलाई प्रधानमन्त्री हुने रहर नभएको बताउँदै संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले आफूहरू आन्दोलनमा नजाने र अदालतको निर्णय अनुसार अघि बढ्ने बताएका थिए । उनले प्रधानमन्त्रीको प्रस्ताव पनि अस्वीकार गरेको भन्दै नेता भनेको त यस्तो पो हुनुपर्छ भन्ने स्यावासी पनि पाएका थिए । तर उनले प्रधानमन्त्री पद अस्वीकार गर्नुमा राजनीति कारण नभएर ज्योतिषीय कारणले रहेछ भन्ने खुलासा भएको छ ।
देउवाका ज्योतिष रिजालले देउवालाई २०७८ असार पछि मात्रै प्रधानमन्त्री हुने योग छ भनेका रहेछन् । त्यसैले त्यसबेला मौन बसेका देउवा असार पछि भने प्रधानमन्त्री बन्ने दौडधुपमा लागे । देउवाले राष्ट्र र जनताका लागि केही गर्न सक्छन् भन्ने विश्वासले होइन, उनले के गर्न सक्छन् भन्ने कुरा विगतका चार वटा कार्यकालमा सवैले देखिसकेकै कुरा हो । तर केपी ओलीलाई जसरी पनि हटाउन पुष्पकमल कमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादवहरूले देउवालाई प्रमका रुपमा अघि सारे । देउवाले प्रचण्ड, माधवहरूको विश्वास हुँदैन, कुनै पनि बेला धोका हुन सक्छ भन्ने ठानेर उनीहरू पक्षका सवै सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर सर्वोच्चमा रिट दायर गरेका थिए भने आफ्नो पक्षमा फैसला गराउने वातावरण तयार पर्न उनले ठुलै कसरत पनि गरे ।
अन्ततः उनका ज्योतिषीले भने झै उनी पाँच पटक प्रधानमन्त्री बन्न सफल भए । तर सात पटक हुन्छन् हुँदैनन्, त्यो भने भविष्यले बताउने छ । तर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन् । यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चार÷चार पटक प्रधानमन्त्री बनेका थिए ।
यसैवीच उनै धर्म र ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री देउवाले केही दिनअघि भारतीय हिन्दु धर्मगुरुसँगथ भेट गरेका छन् । नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले देउवासँग भेट गरेका हुन् ।
बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ । धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारी समेत गरेका थिए । सो क्रममा उनले देउवाको कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएका थिए । यस्तै देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुको भनाइ थियो ।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ ।
देउवाका ज्योतिषको बूढानीलकण्ठमा खोजी
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासहित काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दिएपछि देउवानिवासमा काँग्रेसका नेता–कार्यकर्ताहरू भेला भएका थिए ।
देउवा निवासमा नेता–कार्यकर्ताहरू पुष्पगुच्छा र फूलमालासहित आएका थिए । बधाई थाप्न देउवालाई भ्याई नभ्याई थियो ।
विशेषगरी सुदूरपश्चिमेली कार्यकर्ताहरू र देउवासँग निकट मानिने केन्द्रीय नेताहरूको उपस्थिति बाक्लो थियो ।
यसै क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिषसँग भेट्न चाहेको बताएका थिए । शर्माले ठट्टा गर्दै भने, ‘सभापतिज्यू तपाईंको ज्योतिषसँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’
शर्माको कुरा नसकिदै उपसभापति विमलेन्द्र निधिले भने, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनुपर्ने भयो ।’ विमलेन्द्र र विश्व प्रकाशको कुराले सवै नेताहरू हाँसे ।
गत आम चुनावका क्रममा ०७४ कात्तिक ३० गते देउवाले आफूलाई ज्योतिषीले ‘सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएको’ भनेका थिए । नेपालीहरू ज्योतिषीप्रति विश्वास गर्ने भएकाले सो कुरा भएको देउवाको भनाइ थियो ।
यसअघि गत चैतमा पनि पत्रकार महासंघको चुनावका सन्दर्भमा छलफल हुँदा पनि देउवाका ज्योतिषको चर्चा भएको थियो । त्यो दिन नेता कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालले ‘ज्योतिषले तपाईंलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताए । त्यो हुँदा त हाम्रो त पालै पो नआउने देखियो’ भन्दै ठट्टा गरेका थिए ।
जवाफमा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चुनावताका ०७४ कात्तिक २९ गते काँग्रेसबाट आफूलाई अन्तिम प्रधानमन्त्री हुने दाबी गरेपछि प्रतिउत्तरमा ज्योतिषको प्रसंग निकालेको बताएका थिए ।