उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि कांग्रेस महामन्त्री असन्तुष्ट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सरकारलाई सहयोग गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले संघीय सरकार र गण्डकी प्रदेशका मन्त्री नियुक्तिमा कमजोरी भएको स्वीकारेका छन् ।
खड्काले आज संघीय सरकार र गण्डकी प्रदेशमा सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका प्रतिक्रियालाई सकारात्मक रुपमा लिएर समयमै पाठ सिक्नुपर्ने सुझाव नेतृत्वलाई दिउका छन् ।
जस–जसको कारणले कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले खड्काले आम नागरिक र सम्बन्धित सबैसँग क्षमा मागेका छन् ।
खड्काले आम नागरिकमा आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समयमै गर्न जरुरी रहेको पनि बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि कांग्रेसभित्र अशन्तुष्टी बढेको हो । श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि देउवा निकट महामन्त्री खड्काको क्षमा मागेका हुन ।
त्यस्तै गण्डकी सरकारको मन्त्री बनाउने निर्णय भएर पनि दोबाटे बिकलाई बाटोमै रोकेर व्यवसायी बिन्दु थापालाई मन्त्री बनाइएकोमा पनि विरोध भइरहेको छ । श्रेष्ठ र थापा दुवै देउवा पक्षका हुन् ।