पार्टीको विवाद शुक्रबारसम्म टुंग्याउन अध्यक्ष ओलीको निर्देशन

माधव नेपाल किन चाहदैनन् एकता ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद शुक्रबारसाँझसम्ममा टुंग्याउन निर्देशन दिएका छन् । बुधबार पार्टी कार्यालय थापाथली महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई त्यस्तो निर्देशन दिएका हुन ।
अध्यक्ष ओलीले आफू जति लचिलो भए पनि बाहिर विभिन्न भ्रम फैलाउने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमाले मुख्यालय पुगेका ओलीले महासचिव ईश्वर पोखरेललाई जे–जे गर्नुछ शुक्रबार रातिसम्म गर्न निर्देशन दिए । उनले शनिवार बिहान स्थायी समिति बैठक राखेर सबै त्यहीँबाट टुङ्ग्याउने पनि बताएका छन् ।
अध्यक्ष ओलीको निर्देशनपछि संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि नै पार्टीमा सहमति जुटाउनका लागि सक्रिय भएका छन् । उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपालपक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे जानकारी गराएको बताइएको छ ।
संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ।
पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिने विषयमा बहस भए पनि पछिल्लो समय नेता नेपाल त्यसप्रति पनि सकारात्मक नभएको देखिन्छ । बरु उनले अर्को अड्को थापेर झलनाथ खनाल या अष्टलक्ष्मी शाक्यलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने शर्त राखेका छन् ।
पछिल्लोपटक साउन ६ गते केन्द्रीय कमिटीको बैठकअगाडि नेता नेपाल निकट सांसद सोमप्रसाद पाण्डेलाई बालकोट घरमै बोलाएर अध्यक्ष ओलीले पार्टीलाई एकढिक्का बनाउनका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको सन्देश पनि पठाएका थिए । तर नेता नेपाल पूरै पार्टी नै आफूलाई जिम्मा दिनुपर्ने पक्षमा देखिन्छन् । नेता नेपालसँग घनिष्ट सम्वन्ध रहेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले माधव नेपाल एमालेको अध्यक्ष हुन भन्ने आफ्नो चाहना रहेको वताउँदै आएका छन् । दाहालको यो अभिव्यक्तिले दाहाल र नेपालबीच सके एमालेको नेतृत्व नेता नेपालले लिएर पुनः एकता गर्ने । माधव सिंगो एमालेको अध्यक्ष हुन नसके छुट्टै पार्टी खोलेर अघि बढ्ने र केही महिनापछि माओवादी र नेता नेपालको पार्टीबीच एकता गर्ने रणनीति रहेको बुझिन्छ ।
नेता नेपाल समूहकै नेताहरुले तयार गरेको १० बुँदे सहमति स्वीकार गर्न नसक्नुले पनि नेता नेपाल पार्टी एकता गर्न चाहदैनन् भन्ने स्पष्ट भएको छ ।