मन्त्रीको भागबण्डा मिल्यो, मन्त्रालयको बाँकी, मन्त्री छान्न नेतृत्वलाई सकस

माधव नेपाल पक्ष सरकारमा नजाने, राजनीतिक नियुक्तिहरुमा भाग दिने स्थान दिइने

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीको भागवण्डा मिलाएको छ भने मन्त्रालयको भागवण्डा बाँकी रहेको बताइएको छ । गठवन्धको महत्वपूर्ण घटक एमाले वरिष्ठ नेता माधव नेपालको समूह सरकारमा सहभागि नहुने भएपछि काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रीको संख्या भागवण्डा गरेका हुन ।
आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपालाई ७÷७ मन्त्रालय भाग लगाएको हो । बाँकी तीन राज्यमन्त्री बनाइने बताइएको छ । हाल चार जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चाडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएपछि गठवन्धनका नेताहरुबीच आज छलफल भएको हो । तर मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको छ । गठवन्धनबीच मन्त्रीको संख्याको भागवण्डा भएपनि मन्त्रालय टुंगो लाग्न बाँकी छ भने पार्टीहरुले कसलाई मन्त्री बनाउने भन्ने छनौट गर्न बाँकी नै छ । मन्त्रीका आकांक्षी धेरै हुँदा नेतृत्वलाई छनौट गर्न निकै सकस भएको देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि पार्टी ४९ जना सांसद नै मन्त्री हुन खोजेपनि आफू मानसिक तनावमा परेको बताएका थिए ।
त्यस्तै जसपामा पनि मन्त्रीका आकांक्षी धेरै छन् । मन्त्री पाउने लोभमा महन्थ ठाकुरलाई त्यागेर उपेन्द्र याादव तिर लागेको सांसद धेरै छन् । त्यस्तै विगतदेखि नै अध्यक्ष यादवलाई साथ दिँदै आएका नेताहरुले पनि मन्त्रीको दावी गरिरहेका छन् । यसले गर्दा यादव पहिले आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेर मात्र मन्त्रीमा नाम सिफारिस गर्ने तयारीमा छन् । उनले शनिबार संसदीय दलको नेता चयन गर्ने बताएका छन् । उनी आफै दलको नेता बन्न खोजेका छन् ।
त्यस्तै सरकारको नेतृत्व गरेको कांग्रेसभित्र पनि मन्त्री छनौट गर्न निकै गाह्रो पर्ने देखिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विजयकुमार गच्छदार, सुनिलबहादुर थापा गुटलाई पनि समेट्नु पर्ने वाध्यतामा सभापति देउवा छन् । उनलाई साथ दिदै आएका नेताहरुले पनि मन्त्रीको दावेदारी गरिरहेका छन् । महाधिवेशन नजिएको अवस्थामा मन्त्री नपाए साथ छोड्लान भन्ने चिन्तामा देउवा छन् ।