मौद्रिक नीति मैले रोकेको होइन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याउने चालु आर्थिक वर्षको मौद्रिक नीति आफ्नो कारण नरोकिएको स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति अर्थमन्त्रीकै कारण ढिलाइ भएको चर्चा चलेपछि उनले आफ्नो कारणले ढिलाइ नभएको दावी गरेका छन् ।
राष्ट्र बैंक स्वायत्त संस्था भएको भन्दै आफूले सुझावमात्रै दिएको अर्थमन्त्री शर्माले बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलमा बोल्दै अर्थमन्त्री शर्माले ब्याजदर नबढोस्, अर्थतन्त्रलाई नकारात्मक असर नपरोस भनेर केही सुझाव भने दिएको बताएका छन् ।
नयाँ सरकार गठन भएको र आर्थिक अध्यायदेश संसदमा टेबल भई यसलाई टुङ्याउन बाँकी रहेको भन्दै उनले समयलाई भन्दा पनि विषयवस्तुलाई राष्ट्र बैंकले बुझेर मौद्रिक नीति ल्याउने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई समेत सहज हुने गरी हरेक आर्थिक वर्षका लागि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने गरेको उनको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले साउन पहिलो साता नै सार्वजनिक गर्ने गरी तयारी गरेको थियो । तर आर्थिक वर्षको अन्त्यमा सरकार परिवर्तन भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकमा समेत ढिलाइ गरेको छ ।