लुम्बिनी प्रदेशका तीन मन्त्री सांसदबाट पदमुक्त

बुटवल । लुम्बिनी प्रदेश सरकारका तीन जना मन्त्री सांसद पदबाट मुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) को निर्णय अनसार उनीहरुलाई प्रदेससभाले सांसद पदमुक्त गरेको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय सांसद पदमुक्त भएको जानकारी दिएका हुन् ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए भने असार १८ मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागेकी थिइन् । आज पदमुक्त भएका तीन जना महन्थ ठाकुर पक्षका हुन ।
११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको उनीहरुमाथि आरोप लगाइएको छ ।