एमाले एकता टरेको अध्यक्ष ओली र नेता नेपालको सन्देश
‘जनताको सरकार ढलेर दक्षिणपन्थीको सरकार बनाउने माधव नेपाल देशद्रोही’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नरहेको उद्घोष गरेका छन् । ओलीको यो उद्घोषले अब एमाले एकता टरेको सन्देश प्रवाह भएको छ ।
केही दिनदेखि कडा टिप्पणी नगरेका ओलीले एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई एमालेमा कुनै ठाउँ नभएको बताए ।
ओलीले बुधबार महासचिव ईश्वर पाखरेललाई पार्टीभित्रको विवाद मिलाउन शुक्रबार साँझसम्मको समय तोकेर निर्देशन दिएका थिए । उनले शुक्रबारसम्ममा विवाद मिल्ने स्पष्ट नभएमा शनिबारबाट पार्टी एकतामा नअल्झिने बताएका थिए । ओलीको निर्देशनपछि उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरुको छलफलमा एकताका लागि नेता नेपालले शुभ संकेत नदिएपछि ओली अब एकता नहुने निष्कर्षमा पुगेको उनको शनिबारको अभिव्यक्तिले जनाएको छ ।
ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको दोहोर्याएका छन् । ओलीले भनेका छन्, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पु¥याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’
पार्टीको सरकार ढल्दा अग्रहमणको सपनामा धक्का लागेको वताउँदै ओलीले दक्षिणपन्थीको सरकारले सुशासन र अग्रमणको सपनामा धक्का पुग्ने दावी पनि गरेका छन् ।
उता केही दिनअघि आयोजित आफू पक्षीय स्थायी कमिटी वैठकमा नेता नेपालले ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ भनेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू अन्यौलमा परेका छन् ।
माधव नेपालको विश्लेषण छ, ‘पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने, यही होइन केपी ओलीले चाहेको ?’
हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई अध्यक्षको हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने गरी अध्यक्ष दिए मात्र एकता सम्भव भएको नेता नेपालले स्पष्ट गरेका छन् ।
नेपाल नेपाल पक्षीय पार्टी एकता चाहने नेताहरुले भने ओली पार्टी एकताप्रति लचक भएको विश्लेषण गर्दै पार्टी एकताको टुंगो नलागेसम्म नेता नेपाललाई गठवन्धनको वैठकमा सहभागी नहुन, समानान्तर गतिविधि रोक्न र आरोपप्रत्यारोपका अभिव्यक्ति नदिन आग्रह गरेका थिए । तर सो आग्रह गरेको केही दिन नवित्दै नेता नेपालले शनिबार अखिल फोर्सको मार्चपास गराएका छन् ।
अखिल फोर्सको भेलाअघि आयोजित मार्चपासमा सयौंको मोटरसाइकल र्याली तथा मार्चपास आयोजना गरिएको छ । मार्चपासको नेतृत्व नेता नेपाल आफैले गरेर पार्टी एकता टरेको सन्देश दिएका छन् ।
चा“डो एकता नगरे थप क्षति ः कार्यदल
नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् ।
पार्टी एकतालाई जोगाउनु पर्ने र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्ने ढिला गरे एकपछि अर्को क्षति पुग्ने निष्कर्षमा पुगिएको नेता गोकर्ण विष्टले बताएका छन् । १० बुँदे सहमति र दुई अध्यक्षको प्रसङ्ग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने निष्कर्ष निकालेको उनले बताएका छन् ।
कार्यदलकै आग्रहमा शनिबारको स्थायी कमिटी वैठक ओलीले स्थगित गरेका छन् । तर एकता हुने छाँटकाँट देखिदैन ।