देउवा निवासमा कर्याकर्ताको विरोध

महाधिवेशन सुनिश्चितताको माग गर्दै ज्ञापनपत्र हस्तान्तरण

काठमाडौं। पार्टीको महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले सभापति शेरबहादुर देउवा निवासमा नाराजुलस गर्नुका साथै ज्ञापनपत्र पनि बुझाएका छन् ।
बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि बूढानीलकण्ठमा ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई ज्ञापन बुझाएको हो । सभापति देउवालाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरुले देउवा निवासमा धर्ना दिएका थिए ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिन र कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्ने वातावरण सिर्जना गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने प्रतिवद्धता जनाएका छन् ।