मन्त्रिपरिषदलाई पूर्णता नदिएकोमा गगनको आक्रोश
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाएपनि सरकारप्रति असन्तुष्टि चुलिदै गएको छ ।
राजनीतिक विश्लेषक र सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला कांग्रेसकै सांसद तथा नेता गगन थापाले संसद वैठकमा मन्त्रिपरिषद्ले पूर्णता नपाएको प्रधानमन्त्री देउवाप्रति प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरेका छन् । उनले मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ? भन्ने प्रश्न गर्दै भित्र घचमच के छ यो जनताले नबुझ्ने बताए ।
नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।
सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाएका छन् ।
ओली आफैले आफ्नै उपचार गर्न सरकारको ढुकुटी चलाएको वताउँदै थापाले पार्टी कार्यालयमा गए कसरी उपचार गराउलान् भनेका छन् ।