एमसीसी खारेज गर्न एमाले सांसद पालको माग
काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना एमसीसी सिधै खारेज गर्न माग गरेकी छिन् । बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले एमसीसी खारेज हुनुपर्ने माग गरेकी हुन ।
प्रतिनिधिसभाको शुक्रबारको शुन्य समयमा बोल्दै सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघाती रहेको दावी गर्दै एमसीसीका बिषयमा वर्तमान सरकारले राष्ट्रिय सहमति खोज्नुको कुनै औचित्य नरहेको बताइन् ।
त्यस्तै कांग्रेस संसद डा. डिला संग्रौलाले बेलायतमा आमरण अनशन बसिरहेका गोर्खा सैनिकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा बताएकी छिन् ।
त्यस्तै माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले जनयुद्धका घाइतेले उपचार नपाए एमाले पार्टी कार्यालयमा आउनु उपचारको व्यवस्था गर्छु भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ती जनाएकी छिन् । उनले माओवादी जनयुद्धका घाइतेको नभई झापा आन्दोलनका घाइतेको चिन्ता गर्न ओलीलाई सुझाव पनि दिएकी छिन् ।
त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता बीपी कोइरालाको बदनाम भएको भन्दै भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पती भएका योगमाया आयुर्वेद विश्वबिद्यालय बिधेयक र तथ्याङ बिधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक साउन ३२ गते बोलाइएको छ ।
मात्रिका यादवका असंसदीय अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ
सभामुख अग्निप्रसाद सापकोटाले माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अोलीको स्वास्थ्यलाई लिएर बोलेका असंसदीय अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले बिहीबार बसेको बैठकमा माओवादी सांसद यादवले ओलीको स्वास्थ्यमा बिषयमा बोलेका मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन ।
शुक्रबारको बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु आ–आफ्नो ठाउँमा उभिएर विरोध जनाएपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । भट्टराईले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति संसदीय मर्यादा बिपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । भट्टराईले बिहीबारको वैठकमा यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
बिहीबारको बैठकमा यादवले ओलीप्रति लक्षित गर्दै प्रतिनिधिसभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए ।