महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव
काठमाडौं । सरकारले महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको जनाएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै स्वेतपत्र प्रस्तुत गरेका छन् । श्वेत पत्रमा उनले बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ कारण लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको बताएका छन् । उनले कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको बताएका छन् । कुल तिर्न बाँकी ऋणमध्ये रू.८ खर्ब १ अर्ब आन्तरिक ऋण र रू.९ खर्ब २८ अर्ब बाहृय ऋण छ । सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने उनले बताएका छन् ।
अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । सरकारी खर्च बढ्दै गएपनि चालुखर्चको तुलनामा पुँजीगत खर्च बढ्न नसकेको उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब संकलन भएकोमा, संघीय राजस्व ८ खर्ब २९ अर्ब संकलन भएको अर्थमन्त्रीले बताए ।
विगत केही वर्षदेखि कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राजस्व परिचालन बढ्दै गएको भएतापनि समग्र राजश्वमा आन्तरिक राजश्वको अंश बढ्न नसक्दा राजस्व परिचालनमा दीगोपना कायम हुन नसकेको अर्थमन्त्री शर्माले बताए । उनले सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको भन्दै आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि रु पाँच अर्ब निकासा गरेको उल्लेख गरेका छन् ।
पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरेका छन् । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्री शर्माको भनाइ छ ।
देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको भन्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
उता पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकारलाई बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण किन गर्नुपर्ने भन्दै प्रश्न गरेका गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको स्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी होइन, अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित आरोपपत्रका रुपमा प्रस्तुत गरिएको दाबी गरेका छन् ।
मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि पौडेलले प्रतिस्थापन विधेयक ल्याउनु थियो भने आर्थिक वर्ष २०७८÷ ७९ को आय र व्ययको अनुमानको अध्यादेश प्रतिनिधिसभा समक्ष प्रस्तुत किन गरेको भन्दै प्रश्न गरेका छन् ।
उनले सत्तापक्ष र विपक्षका बीचमा नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुनसक्ने तर मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका बारेमा कुनै बिमति हुन नहुने बताएका छन् ।
‘आफ्नो आग्रह पुष्टि गर्न तथ्याङ्कको गलत प्रयोग वा तोडमरोड गर्नुहुँदैन’ पौडेलले भने ‘आर्थिक वर्ष २०५७÷५८, २०७३÷७४ र २०७४÷७५ समेतको प्रयोग गरिएको छ । तुलना जहिले पनि समान अवस्थाका बीचमा गरिन्छ ।’