जसपा विवादमा आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

काठमाडौं । सर्वोच्च अदालतले जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले गरेको निर्णयलाई नै मान्यता दिएको छ । आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा सर्वोच्चले महन्थले मागेबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेपछि आयोगको निर्णय नै सदर भएको हो ।
न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।
ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए ।
उपेन्द्र यादवको पक्षबाट भने महादेव यादव, हरिहर दाहाल,मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, वीरेन्द ठाकुर, दिनमणि पोखरेल लगायतले बहस गरेका थिए ।