नयाँ पार्टी बनाउँने माधव नेपालको घोषणा
नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरी पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको बताएका छन् । केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गर्दै नेता नेपालले भनेका छन्, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’
नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताएका छन् ।
माधव नेपाललाई पार्टी फुटाउन पुग्ने संख्याका आधारमा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाएको छ । नेता नेपालकै आग्रहमा सरकारले त्यस्तो अध्यादेश ल्याएको बताइएको छ ।
एमालेबाट माधव नेपाल समूह छुट्टिने निश्चित भएपछि पार्टीले नेता नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरी पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ । कारवाही गरिएको व्यहोरा निर्वाचन आयोगमा समेत पुगिसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला माधव समूहमा गएका ओली पक्षका सांसद प्रेम आले, किसान श्रेष्ठसहित ८ जनालाई जोगाएर माधव नेपालसहित १४ जनालाई मात्र कारवाही गरिएको छ ।
उनीहरुले संसदीय दलको ह्वीप उल्लंघन दुईपटक गरिसकेकाले कारवाहीको कानूनी आधार पुगेको एमाले नेताहरुको दावी छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।
सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेस गर्नुपर्छ । सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ । तर, संसद अधिवेशन अन्त्य भएको अवस्थामा सचिवालयले सूचना पाटीमा टाँस गर्नुपर्छ ।
सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन् ।