एमाले फुट्यो, माधव नेपालद्वारा एमाले समाजवादी दर्ताका लागि निवेदन

लामो समयदेखि साथ दिएको प्रभावशाली नेताले नेपालको साथ छोडे

काठमाडौं । लामो विवादपछि नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । एमालेको माधवकुमार नेपाल समूहले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । चुनाव चिन्ह खुला किताव प्रस्ताव गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै नेपाल समूहले नयाँ दल दर्ताका लागि आयोग पुगेको हो ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको बताइएको छ ।
माधव नेपाल समूहका प्रभावशाली नेताहरुले भने उनको साथ छोडेका छन् । नेपाल समूहका उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि नेता नेपाललाई साथ दिएनन् ।

नेता नेपाललाई एमालेबाट विभाजित भए साथ दिने आश्वासन दिएका एमालेका उपाध्यक्ष वामदेव गौतम पनि नयाँ पार्टीमा गएका छैनन् ।
गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनको नाम छैन ।

अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष केपी ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवालीले बताएका छन् । व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन गलत हुने भएकाले आफूहरु फुटको पक्षमा नलागेको नेताहरुले बताएका छन् ।