दुर्घटना कम गर्न सडकमा साइन बोर्ड
पाल्पा÷ रामपुर क्षेत्रमा पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बेझाँड बजार र आसपासका सडकका विभिन्न स्थानमा साईन बोर्ड राखिएको छ । सडकको स्तर उन्नति संगै बढ्दो सवारी चाप र त्यसै माथि अत्याधिक सवारी गतिका कारण दुर्घटना बढेको भन्दै सडकका दायाँ बायाँ गति सिमित लेखिएका साईन बोर्ड राखिएको हो । सवारी चालकलाई सचेत बनाउनका लागि ईलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिकाको सहयोगमा बोर्ड राखेको छ । सवारी चालक अनुमती पत्रबिना सवारी साधन चलाउने र अत्यधिक गतिमा सवारी चलाउनेहरुबाट बिगतका समयमा सवारी दुर्घटना बढी हुने गरेको तथ्याङ्कका आधारमा अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको सहयोगमा सदावर्त, बेझाँड बजार, किसानबारी बजारका क्षेत्रका १० स्थानमा बोर्ड राखेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले जानकारी दिए । सडकहरु पिच हुँदै जाँदा सवारी दुर्घटना बढेको र मुख्य कारण अत्याधिक गति नै भेटिएकाले सचेतनाका लागि बोर्ड राखिएको पाण्डेयले बताए । आगामी दिनहरुमा नगरका अन्य स्थानसहित रामपुर–आर्यभञ्ज्याङ सडक खण्डमा समेत बिभिन्न निकायहरुको सहकार्यमा त्यस्ता खालका सचेतना बोर्डहरु राख्ने कार्यलाई निरन्तरता दिइने निरीक्षक पाण्डेयले जानकारी दिए । गति सिमित गर्ने बोर्डहरु राखेपछि तिव्र गतिका कारण सवारी साधन दुर्घटनामा कमी आउने अपेक्षा स्थानीयहरुले लिएका छन् । विगत केहि समययता रामपुर नगरपालिकाका विभिन्न बजार आसपासको क्षेत्रमा दैनिक जसो तिव्र गतिका कारण ठूला साना सवारी दुर्घटनाहरु हुँदै आएपछि साईन बोर्डले केही हदसम्म भए पनि न्युनिकरण हुने स्थानीयले अपेक्षा लिएका छन् ।