ओलीले एमाले कब्जा गरेपछि नयाँ पार्टी खोल्नु पर्यो : माधव नेपाल
नयाँ पार्टीको बिधि बिधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा नेताहरुको वास
काठमाडौं । एमालेबाट छुटिएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नुको विकल्प नभएको दावी गरेका छन् ।
दर्ता प्रक्रियामा रहेको पार्टी केन्द्रीय सदस्यहरुले साथ छोड्लान भन्ने डरले नेता नेपालले काठमाडौंको चन्द्रागिरि रिसोर्टमा सोमवारदेखि नै लगेर राखेका छन् । भोलि निर्वाचन आयोगले उनीहरुलाई सनाखत गर्न बोलाएको छ । प्रस्तावित पार्टीका नेताहरुबीच चन्द्रागिरीमै छलफल हुनुका साथै पार्टीको नीति र विधान तय गरिएको बताइएको छ । छलफलका बिषयमा मंगलबार सञ्चारकर्मीलाई जानकारी गराउदै नेपालले एकता नाममा पार्टी कव्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफुहरुले नयाँ बिकल्प रोजेको बताएका छन् ।
एकताका नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको पछि नयाँ पार्टी दर्ता गरिएको बताउँदै नेता नेपालले नयाँ पार्टी गठन भए पनि एकता हुन सक्ने बताएका छन् । पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अव केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको उनले बताएका छन् । अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुने र समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्ने नेता नेपालले बताएका छन् ।
तेश्रो धारमा उभिएका नेताहरुप्रति लक्षित गर्दै उनले जेठ २ गते भएको १० वुँदे एमालेमा छिर्ने बहाना मात्र भएको स्पष्ट पारेका छन् ।
त्यस्तै नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उनले रोज्ने दलका बिषयमा भने शाक्यमा नै भर पर्ने स्पष्ट गरेका छन् ।
नेपालले सनाखतमा लागि २० प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दावी गरेका छन् । यसबीचमा आफ्नो नयाँ दलप्रति भ्रम फैलाउने काम पनि गरिएको वताउँदै उनले नयाँ पार्टीको बिधि बिधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको तर्क गरेका छन् ।