भौतिक दरी कायम गरी चाडो कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक दुरि कायम गरि कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समिति बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड र भौतिक दुरि कायम गरि यथाशिघ्र होम सेन्टरमै परीक्षा गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
कक्षा १२ को परीक्षा मात्र पटकपटक स्थगित हुँदा विद्यार्थीहरुको भविष्यप्रतिको चिन्ता थपिनुका साथै मानसिक असर परिरहेको समितिको ठहर छ । सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष समितिको छ ।
त्यस्तै बैठकले इन्जिनियरिङ कलेजहरुको विवादित शुल्कको विषयमा कोभिड– १९ को संक्रमण कायमै रहेको अबस्थामा अन्य क्रियाकलाप नभएकोले गर्दा पढाई शुल्क बाहेक अन्यशुल्क नलिन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिएकी छिन् ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने बताएका छन । उनले यसअघि नै होम सेन्टर राखेर परिक्षाको सम्पूर्ण तयारी गरिसकेको भन्दै ‘भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न छलफल गरेर सूचना जारी गर्ने बताएका छन् ।
यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परिक्षाको तालिका समेत सार्वजनिक भइरहेको अवस्थामा कोरोनाको जोखिमलाई देखाउदै सरकारले कक्षा १२ को परिक्षा स्थगित गरेको थियो ।