कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा ३ दिनभित्र मिसिल झिकाउन आदेश
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आज शाक्य र घिसिङ नियुक्तिका फाइल झिकाउने आदेश दिएको हो ।
प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।
आजको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।