क्रियाशिल सदस्यता विवाद चाँडो टुंग्याउन पौडेल समूहको माग
सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको आज बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद चाँडो टुङ्ग्याएर सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्ने माग गरेको छ ।
नेता प्रकाशमान सिंह निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठकले नेता पौडेलाई पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी विवाद टुङ्ग्याएर सवै वडामा भदौ १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
कांग्रेस क्रियाशील सदस्यता छानविब समितिका सदस्य मिनेन्द्र रिजालले क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णयहरु कार्यान्वयन नभएका कारण कतिपय जिल्लाका क्रियाशील सदस्य नामावली सार्वजनिक हुन नसकेको बताएका छन् । जस्तो सुकै व्यवहारिक कठिनाईहरुलाई समाधान गरेर सबैले पार्टीको १४ औँ महाधिवेसन समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने छलफलको निष्कर्ष रहेकाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर समस्याको समाधान गरिने रिजालले बताएका छन् ।
महाधिवेशनको पहिलो प्राथमिकता मतदाता नामावली रहेकाले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश नरसिङ केसीले बताएका छन् । उनले पार्टीलाई वैधानिक रुपले कब्जा गर्ने षडयन्त्र रचिएकाले त्यसकाविरुद्ध रिले अनसन गर्नु परेको बताएका छन् । उनले आफूहरुको आन्दोलन कांग्रेसको ८ लाख ५२ हजार क्रियाशील सदस्यको पक्षमा भएको दावी पनि गरेका छन् ।
कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि पौडेल पक्षका जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् । क्रियाशील सदस्यता विधि र विधान अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने लगायतका माग उनीहरुको रहेको छ ।