परासी डुव्यो, स्थानीय चिन्तित

नवलपरासी । नवलपरासी पश्चिमका सदरमुकाम परासीबजार डुवानमा परेको छ । विहीवार रातिदेखी परेको भारी वर्षाले परासी बजार डुवेपछि स्थानीयवासी चकित भएका छन् ।
स्थानीय वृद्धवद्र्धाहरुले यतिको डुवान हालसम्म नदेखेको बताएका छन् । ४६ सालमा पनि परासी बजार डुवेको थियो, तर यति धेरै नवुडेको स्थानीयवासी बताउँछन् ।
खोलाको सतहबाट माथी आएर किनारको सडकलाई समेत भत्काएर पानी पसेको छ ।
‘राति १ बजेतिर पानी घरघरमा पस्न थालेको थियो । विहानसम्म त बजारका घरको दोस्रो तलासम्म पानी पुगेपछि स्थानीयवासी घरबाट बाहिर निस्कन सकेनन् । उनीहरु घरको छतमा गएर बस्न वाध्य भए ।
रामग्राम नगरपालिकामा कुल १२ हजार घरधुरी रहेको छ। त्यसमध्ये सदरमुकाम परासी बजार क्षेत्रमा मात्र ४ हजार घर रहेका छन् । बजारका सबै जसो घरमा पानी पसेको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले बताएका छन् ।
‘परासी बजारमा सायद कुनै पनि घर बाँकी छैन जहाँ पानी नपसेको होस् । पसलहरु डुब्दा सबै व्यवसायमा क्षति पुगेको छ ।
परासीको गल्लामण्डीमा खाद्यान उत्पादन गर्ने मिल तथा गोदाममा पनि खोलो पस्दा ठूलो मात्रामा चामल र चिउरामा क्षति पुगेको छ।
रामग्रामका नगरप्रमुख गुप्ताले परासी बजारमा यस्तो क्षति हुने गरी कहिले बाढी नआएको बताएका छन् ।
डुबानले शुक्रबार जिल्लाको सरकारी सेवा पनि प्रभावित भएका छन् । कार्यालयमा समेत माथिसम्म पानी भरिएकाले सबै सरकारी कार्यालयहरु बन्द भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको व्यारेक लगायतका कार्यालयमा पानी पसेको छ। दिउँसोसम्म पनि जिल्ला प्रहरी कार्यालय डुबानमा रहेको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी राजु लामाले बताएका छन् ।
परासीसँगै रामग्राम नगरपालिकाको बजार बाहेकका क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । रामग्राम नगरपालिका १८ का पथ्थापुर बस्ने ३८ वर्षीय विनोद पासी र उनका १३ वर्षीय प्रतित पासीको मृत्यु भएको हो । विहान २ बजेदेखी हराएका उनीहरु घरको नजिकै खेतमा मृत अवस्थामा फेला परेका थिए ।
रामग्रामका ग्रामीण क्षेत्रका पनि अपबाद बाहेक सबै घर डुबानमा परेका थिए । नदी तटीय क्षेत्रका घरमासमेत क्षति पुगेको छ। उनीहरुको लागि जिल्ला प्रशासन तथा जिल्ला समन्वय समितिसँग समन्वय गरेर राहतको व्यवस्था गर्ने रामग्रामका नगरप्रमुख गुप्ताले बताएका छन ।
रामग्राम नगरपालिका बाहेक नवलपरासी पश्चिमको बर्दघाट लगायतका जिल्लाका विभिन्न ठाउँहरुमा पनि डुबानले प्रभावित भएको छ। पूर्वपश्चिम राजमार्ग विस्तारका लागि बनाइएका डाइभर्ससनहरु बगाएको छ। डाइभर्सन बगाउँदा र रुपन्देहीको देवदहमा रहेको पक्की पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।