दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
माधवकुमार नेपाल नेतृत्वको सो पार्टी निकट अनेरास्ववियुले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आर आर क्याम्पस अगाडी भारतीय सुरक्षाकर्मीकै कारण दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।
प्रदर्शनका क्रममा बिद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । पुत्ला दहन गर्दै बिद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले जयसिंह धामीको बेपत्ता हुनुमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको देखिएको उल्लेख गर्दै छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझावसमेत दिएको छ । भारतले भने उक्त घटनामा अनविज्ञता प्रकट गरेको छ ।