कांग्रेसको वडा अधिवेशन शुरु
कांग्रेसबाट मात्रै देशको विकास र संघीय लोकतन्त्रलाई संस्थागत गर्न सम्भव : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरु भएको छ । सभापति शेरबहादुर देउवाले भिडियो सन्देश मार्फत वडा अधिवेशनहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा सभापति देउवाले बलियो कांग्रेसबाट मात्रै देशको विकास र संघीय लोकतन्त्रलाई संस्थागत गर्न सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष समेत गरे । सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दुरी कायम गर्न अनुरोध समेत गरेका छन् ।
आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने धारणा पनि राखेका छन् ।
कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरेका छन् ।
त्यस्तै सभापति देउवाले भक्तपुर वडा अधिवेशनको उद्घाटन गर्दै आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती दिएका छन् ।
केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफुले सहजै जित्ने दावी गरेका थिए ।
देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टीको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् । त्यस्तै उनले आगामी चूनावमा पार्टीलाई पहिलो पार्टी बनाउन शसक्त भूमिका खल्ने धारणा राखेका छन् ।