उपाध्यक्ष वामदेव गौतमले त्यागे एमाले
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । उपाध्यक्ष गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएको बताइएको छ ।
नेता गौतम अब कुन पार्टीमा जान्छन् कि आफै पार्टी खोल्छन् भन्ने कौतुहलता पैदा भएको छ । धेरैले नेता गौतम माधवकुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) मा जाने आँकलन यसअघि देखि नै गरेका थिए । तर उनले अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त माने मात्र सो पार्टीमा जाने बताएका थिए ।
बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार शर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने बताए थिए ।
जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमको शर्त छ ।
अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिएका थिए ।