चीनसँगको सीमा विवाद : गठवन्धनभित्रै खटपट
नेपालसँग कुनै सीमा विवाद नभएको चीनको दावी
काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको दावी गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको दावी गरेको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरेर समिति बनाउने निर्णय गरेको थियो ।
शुक्रबार चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएका छ –‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भैसकेको छ, त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’
चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दा लगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाएको छ ।
केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवादको निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रष्टीकरणलाई बुझ्न समेत ध्यानाकर्षण गराएको छ ।
दुई मुलुकबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क संजाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ ।
हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्मा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले जनाएको छ ।
केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिकलाई यसबाट फाइदा मिलेको समेत जनाएको छ ।
यसैवीच सरकारले नाम्खा (हुम्ला) को सीमा क्षेत्र अध्ययन गर्न कार्यदल बनाएपछि सत्ता गठवन्धनले असन्तुष्टि जनाएको छ । समिति बनाउने निर्णय भएको भोलिपल्ट बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सीमासम्बन्धी विषयमा एकतर्फी निर्णय नलिन ध्यानाकर्षण गराएका छन्र । उनीहरूले चिनियाँ पक्षसँग संवाद गरेर सीमासम्बन्धी विषयमा अगाडि बढ्न सुझाव दिएको बताइएको छ ।
गठबन्धनले बनाएको सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहमतिका आधारमा परराष्ट्र सम्बन्ध अगाडि बढाउने उल्लेख रहेको स्मरण गराउँदै उनीहरुले कार्यदल गठनपूर्व छलफल गरी सहमति नजुटाएकामा असन्तुष्टि जनाएपछि प्रधानमन्त्री देउवाले यस विषयमा गठबन्धनभित्र छलफल गर्ने र चिनियाँ पक्षसँग पनि समन्वय गरेर अगाडि बढ्ने आश्वासन दिएको बताइएको छ ।
तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका विषयमा धारणा स्पष्ट गरेर भारतसँग कूटनीतिक संवाद गर्नुको सट्टा सरकारले अनावश्यक विषयमा हात हालेको भन्दै दाहाल, नेपाल र यादवले असन्तुष्टि जनाएका छन् ।