कम्पनी रजिष्ट्रार कर्मचारीका लागि काउसो

काठमाडौं । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय अन्र्तगतक त्रिपुरेश्वमा रहेको कम्पनी रजिष्टारको कार्यालयमा कर्मचारी सरुवा भएर काम गर्न जान मान्दैनन भन्ने समाचार पढदा आश्चर्य लाग्न सक्छ । कुनै समय यो अड्डामा सरुवा भएर जानको लागि मन्त्रालयमा कर्मचारीहरुका बिचमा रकमको मोलमोलाई हुने गरेको भुक्तभोगिहरु बताउँछन । तर अहिले अवस्था एकदमै
बदलिएको छ । सो कार्यालयमा सरुवा भएर जानको लागि मन्त्रालय वा बाहिरका कर्मचारीहरु कति पनि रुचाउँदैनन र तयार पनि देखिदैनन ।
कारण हो, एक त बदनाम छवी भएको कार्यालय हुँदै हो, त्यसमाथि पनि बाराम्वार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी र कारवाहीमा परिने डर । अर्को, कमाई नहुने र बदनाम होइने डरले आकर्षन घटेको कर्मचारीहरु बताउँछन ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा ५६ जनाको कुल दरवन्दी छ । तर लामो समयदेखि एक तिहाई अर्थात १० जना अधिकृतको पद नै खाली छ । दैनिक ४ सय कम्पनी दर्ताको लागि निबेदन आउने गरेको छ । तर कर्मचारी अभावको कारण मुस्किलले २ सय कम्पनी दर्ता हुने गरेको रजिष्ट्रार प्रदीप अधिकारी बताउँछन । आइटीका ४ जना र अन्य सेवाका ६ जना अधिकृत नहुँदा काम गर्न बाधा पुगेको उनको भनाई छ ।
कर्मचारी आउने जाने भइरहने तर केही समय टिकेर काम गर्नेको संख्या निक्कै कम छ । कम्पनी दर्ताको लागि संघीय राजधानी बाहिर ५ नम्वर प्रदेशको बुटवल र १ नम्वर प्रदेशको इटहरीमा कार्यालय स्थापना भएपनि कार्यालय प्रमुख पद खाली छन । अधिकृतको भरमा कार्यालय संचालन गर्नुपरेको बताइएको छ ।
कम्पनीमा आउने कर्मचारीहरुलाई तालीमको व्यवस्था अनिवार्य हुन्छ । मन्त्रालयमा कम्पनी बुझेका कर्मचारीको संख्या अत्यन्त न्युन रहेको बताइन्छ । कम्पनी नै नबुझेकाहरुलाई तालीम दिएर सक्षम बनाइसकेपछि उनीहरु सरुवा मागेर अन्यत्रै कार्यालय हिंडने गरेको गुनासो छ । कम्पनीको कामका लागि कम्पनी सचिव आउनुपर्ने हो । तर अधिकाशं कम्पनीको काममा कालाकोटधारी वकिलहरु आउने गरेका छन । उनीहरु सेवाग्राही भन्दा पनि कम्पनीको बिचौलिया बनेर आउने गरेको बताइन्छ ।
उद्योग, वाणिज्य क्षेत्रको रिर्सच र अनुसन्धानकर्ताहरुको संख्या नगन्य रहेकोले पनि कम्पनीमा बिचौलियाहरु बोलवाला बढेको बताइन्छ ।