गायिका जोशीले गरिन् खुम्वु पुगेर इन्गेजमेन्ट !
गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । एक कार्यक्रमका लागि खुम्वु पुगेकी गायिका जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।
इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले विवाहको पक्का भएको उनले औपचारिक रूपमा सार्वजिनक गरेकी छिन् । खुम्बु हिमनदी पुगेका बेला शरद केडियासँग २ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहको नाम दिन इन्दिरा तयार भएकी हुन् ।
नेपाली ताराको स्टेजबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएकी इन्दिरा पछिल्लो केही वर्षदेखि आफै सांगीतिक कार्यक्रमको निर्णायक छिन् । नेपाल आइडलको सिजन–३ सम्म निर्णायक बनेकी उनी नयाँ रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा पुनः निर्णायक भइसकेकी छन् ।
लामो सांगीतिक यात्रा हिँडेकी उनी संगीतसँगै उमेरमा पनि परिपक्क भएकी छिन् । ३५ वर्षकी गायिका इन्दिराले प्रेमीसँग अब लगनगाँठो कस्ने जमर्को गरेकी हुन् ।
उनले विवाह गर्न लागेको कुरा सामाजिक सञ्जालमा घोषणा गरेकी छन् । इन्दिराले लेखकी छिन् – “उनले सोधे, ‘के तिमी मसँग विवाह गर्छौ ?’
मैले भने, ‘अवश्य’
म तिमीलाई माया गर्छु सरद केडिया, हरेक दिन मलाई मायाले लपक्प पारेकोमा धन्यवाद !
सरद केडिया ! मेरो प्रिय !”
इन्दिराले ७ महिना अगाडि प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् । फेसबुकमा राखिएको फोटोमा इन्दिराको हात दोस्रो व्यक्तिले समातेको थियो । तारा र चन्द्रमाको डिजाइन भएको उक्त औँठीलाई इन्दिराले ‘प्रमिस रिङ’ भनेर देखाएकी थिइन् । उनले त्यति नै बेला आफू यो प्रेम सम्बन्धमा प्रतिवद्ध रहेको बलियो सन्देश दिएकी थिइन् ।
उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि उनीहरुको वास्तविकता सार्वजनिक भएको हो । त्यो भिडिओ अहिले टिकटकमा भाइरल भइरहेको छ । क्याप्टेन थापाले भिडिओको क्याम्पसन मार्फत ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’ गरेका छन् ।