पढाईमा जस्तै निजामति सेवामा पनि अब्बल सापकोटा

निडर, प्रखर र स्वच्छ छबि नै नारायण सापकोटाको परिचय हो । उनी ०५५ साल जेठमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन । हाल उनी भंसार बिभागमा महानिर्देशकको जिम्मेवारीमा रहेका छन् । आफू सरकारले खटाएको जुनसुकै निकायमा बसेर काम गरे पनि सरकारले दिएको जिम्मेवारी पूरा गर्दै निजामती प्रशासनको शिर निहुरिन नदिने उनको प्रण र दृढ अठोट छ । पढाईमा अत्यन्तै तेज र निर्णय क्षमतामा पनि त्यतिखै पोख्त छन सापकोटा ।
०२८ सालमा पर्बतको फलेवासमा सामान्य परिवारमा जन्मिएका सापकोटाले एसएलसी परीक्षा दिनको १६ वर्ष उमेर पुग्नै पर्ने भएकोले एकवर्ष उमेर बढाउनु परेको थियो । गाउँकै बिद्यालयबाट एसएलसी पूरा गरेर उच्च शिक्षाको लागि उनी पोखरा झरे । पोखराको पृथ्वीनाराण क्याम्पसमा अध्ययनरत सयौं बिद्यार्थीका माझ उनी बेग्लै, पढाईमा अव्वल र तेज बिद्यार्थीको परिचय बनाउन सफल भए ।
०५३ सालमा पीएन क्याम्पसमा एम बिएमा उनी सर्वोत्कृष्ट हुनपुगे । आजका दिनसम्म पनि उनले बनाएको त्यो रेकर्ड कोही पनि बिद्यार्थीले तोड्न सकेका छैनन् । १ नम्वर अंक नपुगेकोले उनी गोल्डमेडिलिस्ट बन्न पाएनन, त्यो बेला । साहित्यमा पनि उनको रुची त्यतिकै छ । साहित्यमा रुची हँुदाहुँदै पनि उनी कर्मशको बिद्यार्थी हुन पुगे । थोरै फुर्सद मिल्नासाथ उनी हिजो आज पनि साहित्यिक पुस्तक पढन थाल्छन । कलेज पढ्दा नै उनले छन्द साहित्यको पाण्डुलीपी तयार गरेका छन । उनले रचेका १२ वटा गीत बजारमा आइसकसेका पनि छन् । केही पुस्तक तयार गरेको र छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको सापकोटाले जानकारी दिएका छन् ।
निजामति सेवामा प्रवेश
०५५ साल जेठमा शाखा अधिकृत पास गरेर उनी निजामती सेवामा प्रवेश गरेका हुन् । उनको पहिलो पोष्टिङ कृषि मन्त्रालयमा भयो । लगत्तै उनी कृषि मन्त्रालय अन्तर्गतको सहकारी कार्यालय स्याङ्जामा खटिए । दुई वर्ष त्यहाँ काम गरेपछि उनको सरुवा गृह मन्त्रालयमा भयो । गृह मन्त्रालय मातहतमा उनले आठ बर्ष सेवा गर्ने मौका पाए । डोल्पा र आफ्नै गृह जिल्ला पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी भएर उनले सेवा गर्ने मौका पाए । कास्की जिल्लामा भने प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने अवसर उनलाई जुर्यो ।
०६६ सालमा उप–सचिवमा बढुवा
०६६ सालमा उनले राजश्व समुह उप–सचिवमा लोकसेवा पास गरेर नाम निकाले । त्यसपश्चात उनले ०७२ सालसम्म अर्थ मन्त्रालय र मातहत निकायहरुमा काम गरेका छन् । पोखराको कर कार्यालय, कृष्णनगर भंसार कार्यालय, एयरपोर्ट भंसार र तालीम केन्द्र गरी ६ वर्ष बिताए ।


०७३ सालमा सह–सचिव
सह–सचिवमा बढुवा भएसँगै उनी पुनर्निर्माण प्राधिरणमा खटिए । छ महिना पछि उनी पुनः अर्थ मन्त्रालय फर्किए । एयरपोर्ट भंसारमा उनले भंसार प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । बिडम्वना उनी एयरपोर्ट गएको १३ दिनमा नै ३३ किलो सुन तस्करी घटना बाहिरियो । उनी त्यहाँ प्रमुख भएर जानु अगाडिको सेटिङ बमोजिम नै उक्त घटना घटेको उनको भनाई छ । त्यस घटनाबारे आफु अनभिज्ञ रहेको उनी बताउँछन् । त्यसपछि एयरपोर्ट भंसारलाई प्रबिधीमैत्री र तस्करी नियन्त्रणको लागि आफुले धेरै सुधारको काम गरेको दावी सापकोटाको छ ।
नौ महिना भंसार बिभागको उप–महानिर्देशको जिम्मेवारीमा रहेर उनले काम गरेका छन् । त्यसपश्चात बन तथा वातवरण मन्त्रालयको वातावरण बिभागको महानिर्देशक भएर काम गर्ने मौका उनलाई मिल्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा
सापकोटाले २ वर्ष भन्दा अलि बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर काम गर्ने मौका पाएका छन् । १३ महिना आयोगको मुख्यालय टंगाल र १ वर्ष २ नम्वर प्रदेशको बर्दिवासमा बिताए । बर्दिवासमा रहँदा आयोगले उत्कृष्ट काम गर्ने कर्मचारी र कार्यालयको रुपमा उनलाई सम्मान पनि दियो । आयोगमा रहेकै अवस्थामा उनलाई सरकारले भंसार बिभागमा सरुवा गर्दै महानिर्देशकको जिम्मेवारी तोकेको छ ।
सेवामा उत्कृष्ट र आत्मसन्तुष्टिका काम
०६३ सालमा सरकारले नागरिकता नपाएका नेपाली नागरिकहरुलाई गाउँ–गाउँमा गएर नागरिकता दिने घोषणा गर्यो । त्यो बेला उनी कास्की जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिएं । उनी भन्छन् “म पनि टोलीमा खटिएँं । पोखरा उप–महानगरपालिकाको १६ नम्वर लामाबगरमा पुगियो । हामी त्यहाँ पुग्दा नेपाली सहित्यका मुर्धन्य व्यक्तित्व जनकेशरी धर्मराज थापा ठमठम लौरो टेकेर आउनु भयो । उनी परिचित भएकोले सोधखोजको कुनै आवश्यकता नै परेन ।”
सापकोटा सम्झन्छन् “जनकवि थापाले गुनासो सुनाए ‘धेरै पटक जिल्ला प्रशासन धाएँ, यो मानिसको नागरिकता बनेन, उसका बा आमा दुवै मरिसके । यसकी आमाले उसलाई यही अगाडिको चौतारोमा जन्माएको मेरो यी आँखाले देखेको, एकजना अर्धबैंसे मानिसलाई देखाउँदै भने ।”
“जनकवीले ती व्यक्तिको नागरिकता बनाइदिन अनुरोध गर्दै ‘सनाखत आफैले गर्ने बताएपछि मलाई छोयो र हामीले तुरुन्तै निर्णय गरेर नागरिकता दियौं ।” सापकोटाले आफ्नो सरकारी सेवाको एक अनुभव सुनाए ।
पारिवारिक जीवन
उनका एक मात्र सन्तान सुपुत्र अमेरिका छन् । सेन्टजेभियर्समा पढेका उनले पूर्ण छात्रवृत्ति पाएर अमेरिकाको एक प्रतिष्ठित कलेजमा अध्ययन गरिरहेका छन् ।
प्रस्तुती : रामहरी चौंलागाईं/राजकुमार राय